झापा, फागुन २४ । राजावादीहरु जुर्मुराउन थालेपछि माओवादीले हुलाकी राजमार्ग केन्द्रित तराई मधेश जागरण अभियान स्थगित गरेको छ ।

झापाको कचनकबलबाट फागुन १२ देखि सुरु भएको जागरण अभियान आज रौतहट पुगेको थियो ।
माओवादीका एक पदाधिकारीका अनुसार संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीविरुद्ध भइरहेका गतिविधिको प्रतिवाद गर्न र संसद्को कामकारबाहीलाई प्रभावकारी बनाउन एक महिने अभियान स्थगित गरिएको हो ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध गतिविधि गरेर अराजकता मच्चाउन खोजेको देखियो । यसको प्रतिवाद गर्नु अहिलेको आवश्यकता हो,’ ती पदाधिकारीले भने, ’संसद्का काम प्रभावकारी बनाउन हाल राजनीतिक अभियान स्थगित गरिएको हो ।’

अभियानका लागि अर्को तालिका बनाइने उनले बताए । झापाको कचनकवलदेखि सुरू भएको ‘लङमार्च’ आज रौतहटमा आएर स्थगित भएको नेकपा माओवादीका बारा अध्यक्ष अनिल श्रेष्ठले बताएका छन् ।

केन्द्रमा राजनीतिक उतारचढावको कारणले रौतहटबाट कार्यक्रम स्थगित भएको बाराका लालकिरण चौलागाईंले बताएका छन् । फागुनपछि बारादेखि अभियानलाई फेरि निरन्तरता दिने सम्भावना रहेको उनले बताए ।

पूर्वको झापादेखि पश्चिम कञ्चनपुरसम्मको जागरण अभियान तय रहेकोमा कोशी प्रदेश र मधेशको ८ जिल्लामध्ये ६ जिल्ला पुगेर अभियान स्थगित भएको हो । मधेश प्रदेशको बारा र पर्सामा क्रमशः फागुन २४ र २५ र २६ गतेका लागि कार्यक्रम तय गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्