झापा, फागुन २४ । राजवंशी भाषामा पहिलो होली गीत ‘आसिल फागुवा’ नामक गीत सार्वजनिक भएको छ ।

होली पर्वको अवसरमा बुधबारका दिन साँझ ५ बजे बलराम राजवंशीको युट्युब च्यानलबाट सो गीत सार्वजनिक गरिएको हो । राजवंशी समुदायमा होली पर्वलाई डोल अर्थात फागुवा भनिन्छ । जुन पर्व अरू जाति समुदायभन्दा पृथक तरिकाले मनाइन्छ । आफ्नो मौलिक जातीय संस्कृति झल्किने गरी सो गीत बनाइएको हो।
यस गीतका लेखक गौरादह–८, भुडेसिमलका रूपक राजवंशी हुन् । उनी दमक–८ का ए वान कापी उद्योग एण्ड प्रिन्टिङ प्रेसका प्रोप्राइटर हुन् । उनले थुप्रै गीत लेखेपनि भिडियोसहित सार्वजनिक गरिएको यो पहिलो हो। उनी राजवंशी समाज विकास समितिका झापा जिल्ला सदस्य र राजवंशी उद्योग व्यवसाय विकास समितिका संस्थापक अध्यक्ष पनि हुन् । उनी यस गीतका शब्द ÷ स्क्रिप्ट राईटर ÷ प्रोड्युसर हुन् भने यस गीतमा दाजुको भूमिका निर्वाह गरेका छन् ।
यस गीतको म्यूजिक कम्पोजिसन ÷ एरेन्ज राजवंशी समुदायका बरिष्ठ गायक बलराम राजवंशीले गरेका छन् । यस गीतमा स्वर बलराम राजवंशी, प्रमोद राजवंशी, निकिता राजवंशीको रहेको छ । यस गीतमा कलाकारहरू सन्तोष राजवंशी, नेहा राजवंशी , हेम राजवंशी, छिमेकी राष्ट्र भारतबाट प्रतिमा सिंह, रूपक राजवंशी ,ममता राजवंशीले अभिनय गरेका छन् भने डान्स कोरियोग्राफर÷निर्देशक हेम राजवंशी, सह– निर्देशक नारायण राजवंशी, छायांकनमा साजर क्रिएसन ÷ सेभेन स्टुडियो, फेसन डिजाइनमा नमस्ते टेलरिङ्ग हाउस रहेका छन्।
बाल कलाकार हेलेन राजवंशीसंगै कमेडीमा लोकप्रसाद राजवंशी, शरद राजवंशी र चन्द्र राजवंशी र ३० जनाभन्दा बढी ब्याक डान्सरसहित ५० भन्दा बढीलाई गीतमा समावेश गरिएको छ।
पहिलो होली गीतमा राजवंशी समुदायले होली पर्वमा गर्नेे संस्कार संस्कृतिलाई छायांकन गरिएको छ । ठाकुर देवतालाई पो (पुवा) चढाउने, फाग (अविर) चढाउने, बाँसका पिच्कारी खेल्ने जस्ता मौलिक संस्कारलाई गीतमा देखाइएको छ । झापाको बाह्रदशी र कनकाई सो गीतको छायांकन गरिएको जनाइएको छ ।
यस गीतका लागि देश विदेशबाट विभिन्न राजवंशी संघ संस्था तथा व्यक्तिबाट आर्थिक सहयोग प्राप्त भएको फेसन डिजाइनर बैजन्तकुमार सिंह राजवंशीले जानकारी दिएका छन् ।