झापा, फागुन २५ । सुनकोशी नदीमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ ।

डुबेर मृत्यु हुनेमा मकवानपुरको बागमती गाउँपालिका– ७ घन्साई घर भई ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका– ७ हर्कपुर माझीगाउँ छेउमा स्काईभेटरको काम गर्दै आएका अन्दाजी १९ वर्षका रमित थापा मगर रहेका छन् । उनी शुक्रवार साँझ ६ बजे सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए । हिजो दिउँसो २ बजे घटनास्थलबाट अन्दाजी २८० मिटर ढुंगाको चेपमा उनको शव फेला परेको थियो ।

त्यस्तै सप्तकोशी नदीमा डुबेर एकजना बेपत्ता भएका छन् । आज बिहान ८.२० बजे उदयपुर बेलका नगरपालिका वडा नं.८ कोठुस्थित सप्तकोशीको पुलमा प्र.१०२ प ४९७८ न. को स्कुटी र नजिकै पुरुषले लगाउने चप्पल बेवारिसे अबस्थामा फेला परेको थियो । उक्त स्कुटीको डिकी खोलेर हेर्दा डिकीभित्र आइफोन रहेको र उक्त फोनमार्फत उनकी श्रीमती दिपा सुब्बालाई सम्पर्क गरी बुझ्दा धरान १५ बस्ने बर्ष ४५ का दुर्गाप्रसाद कुरुम्वाङ आज बिहान ४.३० बजे घरबाट आफूखुसी हिडेको भन्ने बुझिएको थियो । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट ७ जना र सशस्त्र प्रहरी बल नेपाल बेस क्याम्प डुडखोलाबाट ५ जनाको टोली खटिएर खोजतलास कार्य भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै सुनसरीको धरानमा यात्रुवाहक बसबाट हामफालेर एकजना गंभीर घाइते भएका छन् । आज बिहान ८.३० बजे धरान डम्पिङ साईटमा बिराटनगरबाट धरानतर्फ आउँदैँ गरेको को १ ख ६२९२ नं.को यात्रुबाहक बसको पछाडि तर्फको दाहिने साईडको २ वटा टायर एक्कासी पड्किदा सोही बसमा सवार खोटाङ ट्याम्बा –७ घर भई हाल धरान –१४ स्थित पिण्डेश्वरी बिद्यापीठमा अध्ययनरत २२ वर्षीय लोकेन्द्र घिमिरेले बसबाट हामफालेका थिए ।

अनुहारमा चोट लागेर घाइते भएका घिमिरेलाई उपचारको लागि बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको छ । उनको अवस्था गम्भीर रहेको छ । आइसीयुमा राख्नु पर्ने भएकोले उनलाई न्युरो अस्पताल बिराटनगर रेफर गरिएको छ । बस चालक बिराटनगर –१ बस्ने ५४ वर्षीय सुरेशकुमार श्रेष्ठलाई अस्थायी प्रहरी चौकी तीनकुनेले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्