झापा,फागुन २६ । स्थानीय तहदेखि सङ्घसम्म रोजगारी सिर्जनाका माध्यम खोज्ने उद्देश्यसहित नेपाली कांग्रेसले ‘मिसन रोजगारी’ अभियान सुरु गरेको छ । देशव्यापी रूपमा एक वर्षसम्म सञ्चालन गरिने यस अभियानको कांग्रेस पार्टी कार्यालय ललितपुरको सानेपामा औपचारिक घोषणा गरिएको छ ।

यस अभियानले क्षेत्रगत रूपमा आवश्यक जनशक्तिको आधिकारिक तथ्य आउने कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताए । अभियानका क्रममा रोजगारी सिर्जना गर्न सकिने माध्यम, क्षेत्र, नीतिगत अवस्थाका विषयमा सम्बन्धित क्षेत्रका विज्ञ, सरोकारवालासँग छलफल हुने उनले जानकारी दिए ।

रोजगारी हरेक व्यक्तिको गाँस, बास र कपाससँग जोडिएकाले यस्तो अभियान सबै राजनीतिक दलको प्रमुख एजेन्डा बन्नुपर्ने महामन्त्री थापाको धारणा छ । “नेपाली कांग्रेस सबैभन्दा जेठो र ठुलो दल भएकाले रोजगारीको एजेन्डालाई पहिलो प्राथमिकतामा राखेर अभियान चलाउन सुरु गरेका छौँ” उनले भने, “अन्य दलहरूले पनि यस्ता अभियान सञ्चालन गर्नु राम्रो हुन्छ ।”

अर्का महामन्त्री विश्वप्रकाश शर्माले नेपालमा रोजगारी सिर्जनामा ठुलो योगदान दिने निजी क्षेत्रका लागि आवश्यक जनशक्ति उपलब्ध गराउने र त्यसमार्फत नेपालको उत्पादन वृद्धि गर्न सहयोग पु¥याउने अभियानको मुख्य उद्देश्य रहेको जानकारी दिए । तत्काल रोजगारी दिनेभन्दा दीर्घकालसम्म नेपालमा आवश्यक पर्ने दक्ष जनशक्तिबारे सङ्घीय, प्रदेश र स्थानीय तहसम्म नीतिगत रूपमै मार्गनिर्देशन गर्न सहयोग पु¥याउनु पनि अभियानको उद्देश्य रहेको उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्