बिर्तामोड, फागुन २७ । मध्यरातमा झापाको बिर्तामोडमा तरबारसहित नेकपा एमालेकै युवाहरुबीच ग्याङफाइट भएको खुलेको छ ।

ग्याङफाइटमा युवा संघका केन्द्रीय सदस्यसहित तीनजना घाइते भएका छन् । घाइते हुनेहरुमा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज बिर्तामोड नगरपालिका वडा नम्बर ४ बस्ने बर्ष अन्दाजी ३७ का खगेन्द्रराज आङदम्बे , एमालेका बिर्तामोड नगर कमिटी सदस्य वडा नम्बर ९ बस्ने बर्ष अन्दाजी ३५ का विश्वदीप राजवंशी र एमालेकै कार्यकर्ता वडा नं ४ बस्ने वर्ष अन्दाजी ३० का अजय खवास रहेका छन् ।घाइतेहरुको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
उनीहरुलाई बिर्तामोड नगरपालिका ४ बस्ने बर्ष ४५ का खगेन्द्र खालिङ राईलगायतको ४÷५ जना युवा आएर तरबारजस्तो देखिने धारिलो हतियार प्रहार गरी कुटपिट गरी घाइते बनाएको बताइएको छ । खालिङ पनि एमालेकै कार्यकर्ता हुन् । यसअघि उनी लिम्बुवान संगठनमा रहेका थिए ।
गएराति १२.४५ बजे बिर्तामोड नगरपालिका वडा न.४ भद्रपुर रोडस्थित दरबार रेस्टुरेन्ट अगाडी सोही रेस्टुरेन्टमा खाई÷पिई गरी घर फर्किने क्रममा दुई समूहबीच ग्याङफाइट भएको थियो । आपसी लेनदेनका विषयमा उनीहरुबीच विवाद भएको हुनसक्ने आशंका गरिएको छ । घटना संलग्न मानिसहरु फरार रहेकाले खोजी भइरहेको बिर्तामोड प्रहरीले जनाएको छ ।