
झापा,फागुन २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो कोशी प्रदेश सभामा सम्बोधन गर्दैछन् । प्रदेश सभा सचिवालयका अनुसार मंगलबार दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भइसकेको छ । प्रधानमन्त्री ओलीको सम्बोधन सुन्नका लागि सत्तारुढ दलहरु एमाले र कांग्रेसले आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका छन् ।
एमालेले सोमबार संसदीय दलको बैठकमार्फत् सबै ४० सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिएको थियो । नेपाली कांग्रेसले पनि आफ्ना २९ सांसदहरूलाई बैठकमा उपस्थित हुन निर्देशन दिइसकेको छ । प्रमुख सचेतक गोपाल तामाङका अनुसार प्रधानमन्त्रीको सम्बोधनलाई मध्यनजर गर्दै कांग्रेसले ह्वीप जारी गरेको हो ।
यसैबीच, विपक्षी दलहरूले भने प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने चेतावनी दिएका छन् । सरकार संसद्मा उठाइएका विषयहरू सम्बोधन गर्न असफल भएको र संसद्लाई पेलेर अघि बढ्न खोजेको आरोप उनीहरुको छ ।
उनी सोझै पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङमा ओर्लने छन् । ११ः४५ बजे विश्वविद्यालयका कूलपतिको हैसियतमा उनले विश्वविद्यालय परिसरमा निर्माण भएको गिरिजाप्रसाद कलेज अफ एग्रिकल्चर रिसर्चको शैक्षिक भवन र पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ हेल्थ एन्ड साइन्स शैक्षिक भवनकोसमेत उद्घाटन गर्ने छन् ।१२ः०५ बजे कूलपतिको हैसियतमा पूर्वाञ्चल विश्वविद्यालयको ४० औं विशेष सभा बैठक एवं १३ औं दीक्षान्त समारोहको अध्यक्षता ग्रहण गर्ने छन् ।
दिउँसो २ः३० बजे कोशी प्रदेश सभामा उनको विशेष सम्बोधन रहने कोशी प्रदेश सचिवालयले जनाएको छ । ४ः३० बजे उनी हेलिकोप्टरमार्फत् काठमाडौं फर्किने सुरक्षा स्रोतले जनाएको छ ।