बिर्तामोड, फागुन २७ । मध्यरातमा झापाको बिर्तामोडमा धारिलो हतियार प्रहारबाट तीनजना घाइते भएको घटनाको प्रहरीले अनुसन्धान थालेको छ ।

बिर्तामोड–४ स्थित कर्णाली सहकारीको कार्यालयदेखि पश्चिमपट्टि ४५ वर्षीय खगेन्द्र खालिङ राई बस्ने डेराको अगाडि हतियार प्रहार भएको हो । खालिङ केही वर्षदेखि गणेश प्रसाईको घरमा डेरा लिई बस्दै आएका छन् । विवादका क्रममा खालिङलगायतको समूहले धारिलो हतियार प्रहार गर्दा युवा संघका केन्द्रीय सदस्यसहित तीनजना घाइते भएका छन् । घाइते हुनेहरुमा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज बिर्तामोड नगरपालिका वडा नम्बर ४ बस्ने बर्ष अन्दाजी ३७ का खगेन्द्रराज आङदम्बे , एमालेका बिर्तामोड नगर कमिटी सदस्य वडा नम्बर ९ बस्ने बर्ष अन्दाजी ३५ का विश्वदीप राजवंशी र एमालेकै कार्यकर्ता वडा नं ४ बस्ने वर्ष अन्दाजी ३० का अजय खवास रहेका छन् ।घाइतेहरुको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरुलाई खालिङलगायतको २–३ जनाको समूहले धारिलो हतियार प्रहार गरी घाइते बनाएको बताइएको छ । राति लखेट्दै हतियार प्रहार गरेको दृश्य देखिएको स्थानीयले बताएका छन् । खगेन्द्रराज आङदम्बे र खगेन्द्र खालिङ दुवैजना मिल्ने साथी हुन् । आपराधिक हिसावले आक्रमण भएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र खड्काले बताए । उनले घटनाबारे प्रारम्भिक अनुसन्धान शुरु गरिएको जानकारी दिए । प्रहरीले घटनास्थलको सर्जमिन मुचुल्का तयार गरेको छ । घटनामा संलग्न व्यक्तिहरुको पहिचान गरी खोजी गर्ने कार्य भइरहेको डीएसपी खड्काले जानकारी दिए ।

गएराति १२.४५ बजे बिर्तामोड नगरपालिका वडा न.४ भद्रपुर रोडस्थित दरबार रेस्टुरेन्टमा उनीहरुले संगै खाएका थिए । त्यसपछि खगेन्द खालिङ र उनका भतिजा दुर्गा खालिङ कोठा फर्किएका थिए । कोठामा आएर खालिङले आङदम्बेलाई बोलाएर हतियार प्रहार गरेको बताइएको छ । पाँचथरको हिलिहाङ गाउँपालिकाको भालुचोक घर भएका खालिङले ताप्लेजुङको कावेली हाइड्रोपावर हेर्ने गरेका थिए । त्यस हाइड्रोपावरसंगको लेनदेनको विषयमा दुवै साथीबीच विवाद परेको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्