झापा,फागुन २७ । कुल वस्तु निर्यात ४६.५ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैँकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१÷८२ को सात महिनाको तथ्याङ्कअनुसार निर्यात उल्लेख्य बढेको हो । यो अवधिमा एक खर्ब २७ अर्ब २० करोड रुपियाँको निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.१ प्रतिशतले कमी आएको थियो ।

गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ६६.९ प्रतिशत, ८.६ प्रतिशत र ३.५ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टर यार्न र थे्रड, चिया, अलैंची, पार्टिकल बोर्ड लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल जिंक शिट, अदुवा, जडिबुटी, तयारी पोशाक लगायतका वस्तुको निर्यात घटेको राष्ट्र बैँकको तथ्याङ्कले देखाएको छ ।

यता, आयाततर्फ भने आर्थिक वर्ष २०८१÷८२ को सात महिनामा कुल वस्तु आयात १०.१ प्रतिशतले वृद्धि भई ९ खर्ब ८८ अर्ब ५९ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २.३ प्रतिशतले कमी आएको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.५ प्रतिशत, ११.२ प्रतिशत र १७.५ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामल÷धान, यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पाट्र्स, खाने तेल, स्पञ्ज आइरन लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, पामको कच्चा तेल, हवाइजहाजको पार्टपूर्जा, केराउ, लेख्ने तथा छाप्ने कागज लगायतका वस्तुको आयात घटेको छ ।

आर्थिक वर्ष २०८१÷८२ को सात महिनामा कुल वस्तु व्यापार घाटा ६.२ प्रतिशतले वृद्धि भई ८ खर्ब ६१ अर्ब ३८ रुपियाँ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा १.८ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १२.९ प्रतिशत पुगेको राष्ट्र बैँकको तथ्याङ्कले देखाउँछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.७ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १०३ अर्ब ९४ करोड रुपियाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ८८ अर्ब १८ करोड रुपियाँ बराबरको भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्