झापा,फागुन २८ । ४१ करोड रुपैयाँ मूल्यबराबरका २० वटा पुरातात्विक सम्पदा अमेरिकाले नेपाललाई फिर्ता गर्ने घोषणा गरेको छ ।
न्युयोर्कस्थित म्यानहटन डिस्ट्रिक एटोर्निज् अफिस (जिल्ला न्यायधिवक्ताको कार्यालय)ले प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न समयमा नेपालबाट तस्करी गरी अमेरिका ल्याइएका ३० लाख अमेरिकी डलर अर्थात नेपाली रुपैयाँ ४१ करोड १० लाख मूल्य बराबरका २० वटा पुरातात्विक सम्पदा फिर्ता गर्ने जनाएको हो । विज्ञप्तिमा फिर्ता गरिने मिति भने उल्लेख गरिएको छैन ।
१५ औं शताब्दीका सैन्य गभर्नर गगनसिंह भारो र उनकी पत्नीहरूको चित्र, बुङ्मतीको एक स्तूपबाट चोरी भएको बुद्धको मूर्ति, ढुङ्गाको देवीको मूर्तिलगायत २० वटा पुरातात्विक सम्पदा फिर्ता गर्ने विज्ञप्तिमा उल्लेख छ । ती सम्पदामध्ये गगनसिंह भारो र उनकी पत्नीहरूको चित्र स्मारकीय रंगद्रव्य र सुनको कपासको पौभा नेपालका नेवारहरूले बनाएको परम्परागत धार्मिक चित्र भएको अनुसन्धानबाट पुष्टि भएको जनाइएको छ । शिलालेखअनुसार चित्र लगभग सन् १४५० देखि १४७४ बीचको रहेको अनुमान गरिएको छ । यो चित्र सन् १९८० मा काठमाडौंको इटुम्बहाः गुम्बाबाट चोरी भएको अनुसन्धानबाट खुलेको छ । सन् १९८२ मा यो न्य’योर्क काउन्टीमा रहेका पुराना वस्तुहर“को व्यापार गर्ने व्यक्तिको साथबाट भेटिएको हो ।
‘काठमाडौंस्थित बुङ्मतीको स्तूपबाट चोरी भएको बुद्धको मूर्ति नवौं शताब्दीको भएको बुझिएको छ । यसमा शाक्यमुनि बुद्धको चित्रण गरिएको छ । यो मूर्ति सन् १९७० को दशकको अन्त्यतिर नेपालको बुङ्मतीको स्तूपबाट चोरी भएको र त्यसपछि १९८० को दशकमा लन्डनका एक व्यापारीबाट फेला पारिएको थियो,’ विज्ञप्तिमा भनिएको छ । ढुङ्गाको देवीको मूर्ति भने पहिलो पटक सन् १९७५ मा अस्ट्रियाली वास्तुकार कार्ल प्रुस्चाले खिचेको तस्बिरमा काठमाडौंको विष्णुदेवी मन्दिर परिसरको एउटा कोठामा देखा परेको र त्यसपछि सन् १९८४ मा स्विट्जरल्याण्डबाट न्युयोर्क काउन्टीमा आइपुगेको थियो । मूर्ति न्युयोर्कस्थित कलेक्टर रोबर्ट ह्याटफिल्ड एल्सवर्थले किनेका र यसैवर्ष २०२५ मा डिस्ट्रिक्ट एटोर्नीको पुरातात्विक वस्तुहरूको बेचबिखन एकाइले लिएको हो ।
भारतीय मूलका सुवास कपुर र उनको तस्करी सञ्जालबाट बरामद गरिएको पुरातात्विक सम्पदा नेपालबाट तस्करी गरिएको पुष्टि भएपछि फिर्ता गर्ने प्रक्रिया अघि बढाइएको डिस्ट्रिक एटोर्नी (जिल्ला न्यायधिवक्ता) अल्भिन एल ब्राग जुनियरले बताए । एक दशक अघिदेखि एटोर्नीको कार्यालयले दक्षिण र दक्षिणपूर्वी एसियाका धेरै देशहरूबाट कलाकृतिहरूको अवैध लुटपाट, निर्यात र बिक्रीको आरोपमा कपुर र उनको सञ्जालमाथि अनुसन्धान गर्दै आएको दाबीसमेत गरेको छ । एटोर्नी कार्यालयले सन् २०१२ मा कपुरका लागि पक्राउ वारेन्ट गरेको र भारतमा उनको मुद्दा विचाराधीन रहेको जनाएको छ ।
‘नेपाली जनता दशकौंदेखि यी बहुमूल्य पुरातात्विक वस्तुको फिर्तीका लागि लडेका छन् र हाम्रो दीर्घकालीन अनुसन्धानले यी वस्तु फिर्ता गर्न सफल भएकोमा म खुसी छु,’ ब्रागले विज्ञप्तिमा भनेका छन्, ‘तस्करी सञ्जाल व्यापक छन्, तर हामी तिनीहरूलाई कारबाही र तिनीहरुले सिर्जना गरेको नोक्सानीलाई पूर्ववत गर्न हाम्रो काम जारी रहनेछ ।’ब्रागको कार्यकालमा उनको टोलीले २९ देशहरुबाट चोरी भएका २ हजार २ सय ७५ भन्दा बढी पुरातात्विक वस्तुहरू बरामद गरेको थियो । जसको कुल मूल्य २ सय ५० मिलियन डलरभन्दा बढी अनुमान गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्