झापा, फागुन २८ । संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास एजेन्सी (यूएसएआईडी) ले सहयोग रोकेपछि झापामा संचालित दुईवटा परियोजना प्रभावित भएका छन् ।

आम्दा नेपाल र लिड नेपालले संचालन गरिरहेको एचआइभीसंग सम्बन्धित कार्यक्रम प्रभावित बनेको हो । यूएसएआईडीको सहयोगमा गत अक्टुबरबाट दुई वर्षका लागि लिड नेपालले एचआइभीसम्बन्धी कार्यक्रम शुरु गरेको थियो । १७ जना कर्मचारी नियुक्त गरेर कार्यक्रम संचालन गरिरहँदा एक्कासि कार्यक्रम रोकिएको जानकारी आएको लिड नेपालकी चंचला सुब्बाले बताइन् । उनले तीन महिनाको पारिश्रमिक खाएका कर्मचारीहरुले फेब्रुअरीदेखि पारिश्रमिक नपाएको जानकारी दिइन् । त्यस्तै आम्दा नेपालले पनि एचआइभीसंग सम्बन्धी कार्यक्रम गर्दै आएको थियो । यूएसएआईडीको सहयोगमा संचालन भइरहेको सो कार्यक्रम पनि रोकिएको छ ।

यूएसएआईडी नेपालमा कुल ३१ करोड ९६ लाख ५१ हजार ७५ अमेरिकी डलरको (करिव ४४ अर्ब रुपैयाँ) विकास परियोजना बन्द गरेको छ । यस निर्णयले स्वास्थ्य, शिक्षा, कृषि, सुशासन, विपद् व्यवस्थापन लगायतका विभिन्न क्षेत्रहरूलाई प्रत्यक्ष रूपमा असर गरेको छ । नेपालमा लामो समयदेखि सञ्चालन भइरहेका यी परियोजनाहरू आर्थिक वृद्धि, जनस्वास्थ्य सुधार, र संस्थागत विकासमा योगदान गरिरहेका थिए । अमेरिकी सरकारले विभिन्न देशमा सञ्चालन भइरहेका यस्तै परियोजना बन्द भएको निर्णयको जानकारी केही दिनअघि सबै देशका आफ्ना सम्पर्क कार्यालय तथा युएसएडको कार्यालयलाई दिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्