झापा, फागुन २९ । काठको मुढाले लागेर इलाममा एकजना घाइते भएका छन् ।

हिजो दिउँसो ३.३० बजे इलाम देउमाई नगरपालिका वडा नं–९ मादेबुङमा सोही ठाउँ बस्ने ३७ वर्षीय कुमार खड्का आफनै बारीमा रहेको चिलाउने र उतिसको काठ काट्ने क्रममा कान्ला माथिबाट चिलाउनेको मुढा एक्कासी लडेर घाइते भएका हुन् । खड्काको दाहिने खुट्टामा चोट लागेको छ । उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ ।
हिजै रुख ढाल्ने क्रममा रुखले किचेर इलाममा एकजनाको मृत्यु भएको थियो । दिउँसो १.३० बजे इलाम देउमाई नगरपालिका – ५ बारुङमा सोही ठाउँ बस्ने थिरबहादुर कार्कीले आफ्नै बारीमा रहेको सिरिसको रुख पेट्रोलबाट चल्ने टेन्चो मेसिनले अन्दाजी २६ वर्षीय प्रेम लिम्बूलाई ढाल्न लगाएका थिए । सोही सिरिसको रुखले किचेर लिम्बूको घटनास्थलमा नै मृत्यु भएको हो ।