झापा, फागुन २९ । झापाको जलथल जंगलमा भेटिएको मृत जंगली हात्ती सडेगलेको अबस्थामा फेला परेको छ ।

हिजो साँझ कचनकवल– ७ स्थित पाथीभरा सामुदायिक वनमा करिब डेढ महिनाअघि मरेको हुनसक्ने वयस्क भाले हात्ती सडेगलेर दुर्गन्धित अबस्थामा फेला परेको थियो । ३–४ वटा जंगली हात्तीले वरिपरि घेरेर राखेपछि हिजो साँझ कोही पनि जान सकेका थिएनन् ।
आज बिहान डिभिजन वन कार्यालय , इलाका प्रहरी कार्यालय बनियानीलगायतको टोली घटनास्थल पुगेको थियो । त्यहाँ पुगेर हेर्दा शरीरको अधिकांश भाग कुहिसकेको अबस्थामा मृत हात्ती फेला परेको डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकले बताए । हात्तीको दाराको टुप्पो काटिएको छ । त्यस हात्तीलाई गाडेर अन्त्येष्टि गरिएको कचनकवल ७ का वडा सदस्य शेरबहादुर थेबेले बताए ।
झापामा चालु आर्थिक वर्षमा हात्ती मरेको यो पहिलो घटना हो । गत आर्थिक वर्षमा ४ वटा हात्ती मृत फेला परेका थिए । यस आर्थिक वर्षमा हात्तीको आक्रमण परी झापामा चार जनाको ज्यान गइसकेको छ । मानिस र हात्तीबीचको द्वन्द्व बढ्दै गएको छ ।