
झापा,फागुन २९। नेपालमा जथाभाबी रूपमा विद्युतीय सवारी साधन आयात हुन थालेको भन्दै सरकार नयाँ मापदण्ड बनाउने तयारीमा लागेको छ । विद्युतीय सवारी साधन आयात गरी बिक्री वितरण गर्ने अधिकांश कम्पनीको सर्भिस, चार्जिङ स्टेसन, पाट्र्स उपलब्ध नभएका र नेपाली बाटो अनुकूल नभएका सवारी साधनलाई मापदण्डले रोक्ने छ ।
विद्युतीय सवारी साधनहरू उपभोक्ताको हितभन्दा पनि नाफामा आधारित भइरहेको भन्दै सरकारले मापदण्ड तोक्ने तयारी गरेको हो । नेपालको भौगोलिक अवस्थाअनुसार आयातित सवारी साधन उपयुक्त र सुरक्षित छ÷छैन अहिलेसम्म परीक्षण गर्ने गरिएको छैन । यी विषय नियमन गर्न हालसम्म सरकारसँग कुनै पनि प्रकारको वैज्ञानिक मापदण्ड पनि छैन । तर जुनसुकै कम्पनीको विद्युतीय सवारी साधनको आयात रोक्न मापदण्ड बनाउन आवश्यक छ ।
कम गुणस्तर र नेपालको भौगोलिक अवस्था सुहाउँदो ईभी नहुँदा नेपाली उपभोक्ताले जोखिम भोग्नुपर्ने अवस्था छ । पछिल्लो समय ईभी गाडीमा समस्या आउने गरेका समाचारहरू पनि आइरहेका छन् । ईभी गाडीमा आगलागी हुनेदेखि ब्याट्रीमा समस्या देखिएका कारण उपभोक्ताको जीवनसमेत जोखिममा पर्न थालेको छ । लामो समयसम्म मौन बसेको सरकारले अब भने मापदण्डविना आयात भइरहेको विद्युतीय सवारी साधन (ईभी) लाई व्यवस्थित र नियमन गर्ने भएको हो । यसका लागि यातायात व्यवस्था विभागले तयारीसमेत थालेको जनाएको छ । विभागका निर्देशक इन्जिनियर श्रीकान्त यादवले ईभी आयात व्यवस्थित बनाउने गरी कार्यदल बनाएर मापदण्ड बनाउन लागिएको जानकारी दिए । उनका अनुसार कुन गुणस्तर र रेन्जका सवारी साधन आयात गर्न पाउने भन्ने मापदण्ड बनाइने छ । ‘मापदण्ड बनाएसँगै जथाभाबी रूपमा आयात हुने विद्युतीय सवारी साधनको आयात नियमन हुने छ,’ उनले भने ।
निर्देशक यादवले नेपालले बनाएको मानदण्डमा रहेर मात्र ईभी गाडी ल्याउन पाइने व्यवस्था गर्न लागिएको जानकारी दिए । यस्तो मापदण्ड उपभोक्ता र अटो व्यवसायीहरूको हितका लागि हुने पनि उनको भनाइ छ ।