इन्द्रप्रसाद ओली,

झापा जिल्लाको सदरमुकाममा केही समय अगाडि सूर्तिजन्य , मदिराजन्य पदार्थलाई न्यूनीकरणका लागि सदरमुकाममा कोणसभा ,सन्देशमुलक व्यानर, सूचना टाँस आदि कार्यक्रम गरियो ।लागूऔषध दुर्व्यसनको पहिलो चरण सूर्तिजन्य , मदिराजन्य पदार्थ नै हो । चेतना नेपालको आयोजनामा सयभन्दा बढी विद्यालयमा समेत शैक्षिक सामग्री वितरण गरियो ।जिल्ला प्रशासन कार्यालय झापामा प्रमुख जिल्ला अधिकारीलाई दुर्व्यसन न्यूनीकरण गर्न मौजुदा कानुनहरुलाई कार्यान्वयन गर्न ज्ञापनपत्र समेत बुझाइयो ।
प्रहरी प्रशासन , सुरक्षा निकाय , सम्बन्धित सरोकारवाला कार्यालय र स्थानीय सरकारलाई परिपत्र गर्न समेत आग्रह गरियो ।केही समय चेतना नेपालबाट निगरानी र बेचबिखन गर्नेलाई सजग समेत गराइयो । तर जिल्ला सदरमुकाम फेरि त्यस्तै लथालिङ्ग छ ।प्रहरीले प्रशासनले स्थानीय सरकार कोही पनि कानुनलाई कार्यान्वयन गर्ने पक्षमा छैनन् ।केवल दुर्व्यसन न्यूनीकरणका नाममा आफन्तलाई कार्यक्रम गर्न लगाएझै ठुला ठुला भासन गर्न पल्किएका छन् । व्यानर बोकेर अरुका कार्यक्रममा गएर तस्वीर कैद गरि सामुदायिक प्रहरीहरुले निकै काम गरेको देखाउन बानी परेका छन् ।
सामुदायिक प्रहरी वा गस्तीमा खटिएका प्रहरी विद्यालय पोशाकमा रहेका विद्यार्थीहरुले सूर्तिजन्य , मदिराजन्य पदार्थ खरिद गर्दा , सेवन गर्दा ,ती विक्रीवितरण गर्नेलाई कानुन अनुसार कार्वाही त के चुइक्क नबोल्ने प्रहरीबाट दुर्व्यसन न्यूनीकरण हुन्छ भन्नु त दिवा सपना नै हो । सदरमुकाममा समेत भएका गतिविधि थाहा नपाउने प्रशासनले अन्त गएर ठुला गफ गर्नु आफै लज्जावोध कहिले गर्लान् । झापाको सदरमुकाममा हेरे प्रहरी प्रशासन, स्थानीय सरकार सुरक्षा निकायको कामको ऐना प्रष्ट हुने छ ।