शिवसताक्षी, फागुन २९ । शिवसताक्षी नगरपालिका–७, मिलन चोक निवासी ९१ वर्षीया धनमाया राईको घरमा हिजो दिउँसो ३ः३० बजे भीषण आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ।

चार जनाको परिवार रहेको उक्त घरमा बस्दै आएकी राई परिवारको गुजारा चलाउन पालेका सुँगुरलाई चारो पकाएर भोलिपल्टको थप चारो खोज्न बारी गएकी थिइन्।

त्यहीबेला घरसँगै जोडिएको बाहिरी चुलोबाट अचानक आगो सल्किँदा केही बेरमै सिंगो घर खरानीमा परिणत भयो। स्थानीयबासीले आगो निभाउने प्रयास गरे पनि बाँसका भाटाले बारिएको र टिनको छाना भएको कच्ची घर एकैछिनमै ध्वस्त भयो।

शिवसताक्षी रेडक्रस उपशाखाका अनुसार आगलागीबाट राईको परिवारलाई करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ। घरमा भएका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा सबै जलेर नष्ट भएका छन्। बाहिर देखिएका काठ र अन्य सामग्री समेत काम नलाग्ने गरी जलेका छन् ।

घटनापछि स्थानीयबासीले धनमाया राईलाई तत्काल अस्थायी आवासको व्यवस्था गरे। तर घर गुमाएको पीडाले थिचिएकी उनी अन्ततः नजिकै रहेको छोरी–ज्वाइँको घरमा बस्न गइन्।

बुधबार शिवसताक्षी नगरपालिकाले राहतस्वरूप खाद्यान्न उपलब्ध गराएको छ भने नेपाल रेडक्रस सोसाइटी उपशाखा शिवसताक्षीले भाँडाकुँडा, त्रिपाल लगायतका गैर–खाद्य सामग्री परिवारको घरमै पुर्याइदिएको छ।

शिवसताक्षी विपद् व्यवस्थापन समितिले विपतमा परेका परिवारलाई राहत तथा पुनर्स्थापनाका लागि राहत प्याकेज कार्यक्रम सञ्चालन गरेको छ। नगर उपप्रमुख नरमाया कार्कीले तत्काल राहतस्वरूप खाद्यान्न सामग्री वितरण गरिएको जानकारी दिइन्। नेपाल रेडक्रस उपशाखाका सभापति गोविन्द काफ्लेका अनुसार अन्य आवश्यक सामग्री संस्थाले प्रदान गरेको छ।

राहत वितरण कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष भवानी चेम्जोङ, स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो ।
यो आगलागीले एक असहाय वृद्ध आमाको सम्पत्ति मात्र होइन,उनको जीवनभरको संघर्ष पनि खरानी बनाएको छ। स्थानीय तह र समाजसेवी संस्थाहरूको सहकार्यमा पीडित परिवारलाई राहत दिइएको छ। यद्यपि, दीर्घकालीन पुनर्स्थापनाका लागि थप पहल आवश्यक देखिने वडा अध्यक्ष भवानी चेम्जोङले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्