झापा चैत ३ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द (विप्लव)ले स्थानीय जनतासंग अन्तरक्रिया गरेका छन् ।

आइतवार बिहान भद्रपुर –३ महेशपुरस्थित मेची पारीको ग्रामीण बस्तीमा पुगेर उनले सीमा अतिक्रमणलगायतका विषयमा अन्तरक्रिया गरेका थिए । संगठनका किरात लिम्बुवान प्रदेश समिति इन्चार्ज दिपेश राई, झापा जिल्ला इन्चार्ज सुमनसिंह पौडेललगायत करिब १५ जना कार्यकर्ताहरुको उपस्थितिमा ग्रामीण बस्तीको अवलोकन तथा सीमा अतिक्रमणबारे स्थानीयसँग अन्तरक्रिया गरेको जनाइएको छ । भारतले नेपाली सीमा मिच्ने क्रम बढिरहेका बेला विप्लबले जनतामा राष्ट्रिय स्वाधिनताका लागि जागरण ल्याउनुपर्ने बताए ।सोही क्रममा पार्टीका झापा इञ्चार्ज सुमनसिंहले झापाको सीमा क्षेत्रको माटो महासचिव विप्लवलाई प्रदान गरेका छन् ।
त्यस्तै गौरादह –३, धोबनिया चोकस्थित दशमी पार्टी प्यालेसको सभाहलमा “वर्तमान राजनैतिक अन्योलता र नेपाली समाजको आगामी बाटो” बिषयक अन्तरक्रिया गरिएको थियो ।
नेकपा झापाको आयोजनामा गौरादह नगर इन्चार्ज किशोर बस्नेत (बिज्ञान सी) को अध्यक्षता तथा महासचिव विप्लवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा किरात लिम्बुवान प्रदेश समिति इन्चार्ज दिपेश राई, झापा जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य सुमनसिंह पौडेल, संगठनका कार्यकर्ताहरु, स्थानीयबासीलगायत करिव ५० जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै बिप्लवले उकुसमुकुस भएका नेपाली जनताले समाजवादतर्फ जान चाहेको बताए । उनले जनता राजतन्त्रतर्फ नजाने दावी गरे । उनले सजिलै गणतन्त्र परिवर्तन नहुने भन्दै जनतामा खुल्ला बहस गरेर समाजवादतिर लान सकिने धारणा राखेका थिए ।