विनोद सापकोटा,
झापा । झापामा सोमबार एक्कासि चलेको भीषण हावाहुरीले जिल्लाको जनजीवन अस्तव्यस्त बनायो ।

जिल्लाका कतिपय बजारमा लाग्दै आएको साप्ताहिक हाटबजार लाग्न सकेन । शिवसताक्षीको झिलझिले बजारमा लाग्दै आएको सोमबारे हटिया एकैछिनमा तितरवितर भयो ।
बजारमा घाम छेक्न लगाइएको त्रिपाल हुरी बतासले उडायो भने विक्रीका लागि राखिएका सामान पनि हुरीबतासले तितरवितर पार्यो । किसानले लगाएका बालीमा पनि हुरी बतासले असर गर्यो । बेमौसमी मकैको बोटलाई हुरीले लडायो । हुरी बतासले विद्युत् सेवा अवरुद्ध बन्यो । जसका कारण उद्योग धन्दा कलकारखाना ठप्प बन्यो ।
हावाहुरीकै कारण दमक र भद्रपुरका सामुदायिक वनमा डढेलो फैलिएको छ । पूर्वपश्चिम राजमार्गमा यातायात प्रभावित हुँदा यात्रुहरूले सास्ती भोग्नुपर्यो ।
विद्यालय गएका विद्यार्थी र शिक्षक नजिकका ठूला रुख ढल्ने जोखिमले त्रसित भए । पूर्वपश्चिम राजमार्गमा धूलो मैलोका कारण सवारी साधन र पैदल यात्रुहरू नराम्ररी प्रभावित भए । नेपाल विद्युत प्राधिकरण दमक शाखाअन्तर्गत झिलझिले वितरण केन्द्रका अनुसार शिवसताक्षी क्षेत्रमा १४ वटा रुख ढलेर बिजुलीका तारमा लाग्दा पोल भाच्चिएका छन् । त्यसका कारण सो क्षत्रमा विद्युत अवरुद्ध बन्यो । कतिपय ठाउँमा आज साँझ ७ बजे मात्र विद्युत सुचारु भयो भने केही ठाउँ अन्धकारमै छन् ।
विद्युत अवरुद्ध भएका ठाउँका ढलेका रुख भोलि विहान हटाएर विद्युत सुचारु गर्ने प्राधिकरणले कार्यतालिका बनाएको झिलझिले वितरण केन्द्रका प्रमुख कुमार बस्नेतले बताए ।
हावाहुरीका कारण स्वास्थ्य जोखिम हुन सक्ने चिकित्सकले चेतावनी दिएका छन् । प्रादेशिक अस्पताल भद्रपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. रामबाबु खड्काका अनुसार हावाहुरीपछि विभिन्न सरुवा रोगहरू फैलिन सक्ने खतरा उच्च हुन्छ । उनी भन्छन्, “हावाहुरीका कारण वायुमण्डलमा धूलो र जीवाणुहरू फैलिन्छन् । जसले स्वास्थ्य समस्या निम्त्याउँछ ।”
उनले हावाहुरीले उडाएको धूलोका कारण स्वासप्रश्वाससम्बन्धी समस्या निम्तिन सक्ने बताएका छन् । प्रतिदिनसंग कुरा गर्दै उनले भने,‘ दम भएका बिरामीहरूको लागि हावाहुरी निकै जोखिमपूर्ण हुन सक्छ ।’ उनले फोक्सोमा संक्रमण भई खोकी, दम तथा ज्वरो आउने सम्भावना हुन सक्ने बताए ।
हावाहुरीले धूलो उडाउँदा मानिसहरूमा घाँटी खसखसाउने, खोकी लाग्ने तथा नाक बन्द हुने समस्या हुन सक्ने उनले बताएका छन् । डा. खड्काले हावाहुरीले आँखा तथा छालासम्बन्धी समस्या पनि निम्त्याउने बताए । उनले हावाले हावाहुरीले ल्याएको धूलोका कारण आँखामा संक्रमण भइ आँखा पाक्ने समस्या पनि आउने बताए । मेडिकल सुपरिन्टेन्डेन्ट खड्काले हावाहुरीले बोक्ने प्रदूषणले छालामा चिलाउने, रातो हुने वा घाउ आउने समस्या हुने हुँदा सकेसम्म हावाहुरी चलेका बेला घरैमा बस्न सुझाव दिए ।हावाहुरीले फ्लु, झाडापखाला र टाइफाइडको जोखिम बढाउने उनले बताए ।
डा खड्काले हावाहुरीको असरबाट जोगिन नियमित माक्स लगाउन अनुरोध गरे । उनले घर बाहिर निस्कदा माक्सको प्रयोग गरे हावाहुरीबाट सर्ने रोगबाट बच्न सकिने बताएका छन् । उनले धूलोले खानेकुरा दूषित पार्ने भन्दै खानेकुरालाई राम्रोसँग छोपेर राख्न पनि सुझाव दिए । स्वच्छ अर्थात सफा पानी मात्र पिउन उनले सुझाव दिएका छन् ।