झापा,चैत ५ । त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त झापाका १३ वटा क्याम्पसमा आज स्ववियुको नेतृत्व चयनका लागि मतदान हुँदै छ ।

मतदानका लागि बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकिएको छ । गौरादह कृषि क्याम्पसमा केही ढिलो मतदान हुने बुझिएको छ । जिल्लामा राजनीतिक दलनिकट र स्वतन्त्र गरी ९ विद्यार्थी समूहले निर्वाचनमा भाग लिएका छन् । झापामा अध्यक्ष पदका लागि ८ जनासम्मले उम्मेद्वारी दिएका छन् ।
सबैभन्दा धेरै दमक बहुमुखी क्याम्पसमा अध्यक्ष पदका लागि ८ जनाले उम्मेद्वारी दिएका हुन् । दमकपछि कन्काई बहुमुखी क्याम्पस सुरुङ्गामा ७ जनाले अध्यक्षमा उम्मेद्वारी दिएका छन् ।
त्यस्तै जिल्लाको सबैभन्दा पुरानो आंगिक क्याम्पस मेची बहुमुखी क्याम्पसमा ६ जनाले अध्यक्षमा उम्मेद्वारी दिएका छन् । जिल्लाका १३ वटा क्याम्पसमा ३३२ जना उम्मेद्वार प्रत्यक्षतर्फ चुनावी मैदानमा उत्रिएका छन् । झापामा १३ हजार ३१९ जना विद्यार्थीहरुले स्ववियू निर्वाचनमा भाग लिने भएका छन् । केही क्याम्पसमा सत्तारुढ दलनिकट नेपाल विद्यार्थी संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले चुनावी गठबन्धन बनाएका छन् । गरामनी क्याम्पसमा जम्मा ४० जना विद्यार्थीमध्ये २० जना उम्मेद्वार बनेका छन् ।
कुल विद्यार्थीमध्ये आधा उम्मेद्वार बनेका हुन् । नेकपा एमालेनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन , नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ र राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले प्रत्यक्षतर्फ १५ जना र समानुपातिकतर्फ पाँचजनाको उम्मेद्वारी दिएका हुन् ।
अध्यक्ष, सचिव, कोषाध्यक्ष र केही सदस्य प्रत्यक्ष तथा उपाध्यक्ष, सहसचिवलगायत केही सदस्य समानुपातिक निर्वाचन प्रणालीअनुसार निर्वाचित हुनेछन् । निर्वाचन निर्देशिकामा क्याम्पसमा रहेका विद्यार्थी संख्याका आधारमा स्ववियु कार्यसमिति निर्वाचित हुने व्यवस्था छ । दुई सयसम्म विद्यार्थी रहेको क्याम्पसमा ११, दुई सयदेखि हजारसम्म विद्यार्थी रहेकामा १५, एक हजारदेखि तीन हजारसम्म भए १९ र त्यसभन्दा बढी विद्यार्थी संख्या रहेको क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमिति रहनेछ । स्ववियु कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।
२०७३ सालदेखि मिश्रित प्रणालीमा आधारित निर्वाचनको थालनी भएको हो भने उम्मेदवारको उमेरहद २८ वर्ष कायम गरिएको छ ।
यसअघि ५ चैत २०७९ मा ५० आंगिक र ३ सयभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो, जसमा ६० प्रतिशत विद्यार्थीले मतदान गरेका थिए ।