
झापा,चैत ५ । नेपालबाट निर्यात हुने प्लाइउड भारतले रोकेको छ । ब्युरो अफ इन्डियन सर्टिफिकेट्स (बिआइएस) को कारण देखाउँदै भारतले नेपालबाट प्लाइउड लिएर भारततर्फ लागेका मालवाहक सवारीलाई भन्सार पास दिन नै रोकेको हो । भारतले केही दिनयता प्लाइउड निर्यातका लागि भन्सार पास नदिएको नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरेले जानकारी दिए । ‘बिआइएसको कारण देखाउँदै भारतले भन्सार पास नै गरेको छैन’ उनले भने, “यसले निर्यातकर्तालाई अन्योल बनाएको छ ।”
भारत सरकारले एक वर्षअघि राजपत्रमा सूचना प्रकाशन गर्दै बिआइएस प्रमाणपत्र नलिएका कुनै पनि वस्तु आयात नगर्ने उल्लेख गरेको थियो । जस अनुसार नेपालबाट निर्यात हुने वस्तु पनि बिआइएस लिनुपर्ने अवस्थामा पुगेका थिए । यद्यपि प्लाइउड र प्लाइ ढोकाको हकमा भने बिआइएस नलिई एक वर्ष थप निर्यात गर्न सक्ने सुविधा भारतले दिएको थियो । राजपत्रमा ठुला उद्योगले सन् २०२५ फेबु्रअरी २८, मझौला उद्योगले मार्च २८ र साना उद्योगले अगस्ट २८ सम्म बिआइएस लिनुपर्ने उल्लेख थियो ।
गुणस्तर प्रमाणका लागि प्रयोग हुने बिआइएस प्लाइउड उद्योगको हकमा भने अगस्ट २८ सम्म लागु नहुने बुझाइमा नेपालका प्लाइउड उत्पादक थिए । उक्त समय नपुग्दै भारतले अचानक आयात रोकको अध्यक्ष घिमिरेले जानकारी दिए । “अगस्टपछि बिआइएस अनिवार्य हुने कुरा राजपत्रमा उल्लेख भए पनि यसरी बिचमै आयात रोकिदिँदा हामी नै अचम्मित भएका छौँ,” उनले भने ।
भारतले सीमानाकामा रहेका मालवाहक सवारीलाई भन्सार पास दिन नेपालको परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको जानकारीमा आएकाले तत्कालका लागि ती सवारी छुट्नेमा उनले विश्वास व्यक्त गरे । यद्यपि तत्कालका लागि मात्र यस्तो व्यस्वथा भएकाले भविष्यमा आयात खुला हुने अथवा नहुने विषयमा व्यवसायी अन्योलमै रहेको उनले बताए।