बिर्तामोड, चैत ५ । यथास्थितिमा देश चल्न नसक्ने नेपाल कम्युनिष्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ले बताएका छन् ।

२०४७ सालतिर फर्किने र अझ अग्रगमनको बाटोमा जानुपर्छ भन्नेहरूले द्वन्द्व चर्काइरहेका बेला अब मुलुक पछि फर्किन नसक्ने उनले दावी गरेका छन् । झापाको बिर्तामोडमा मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै महासचिव विप्लवले देशको निकास भनेकै समाजवादी गणतन्त्र भएको उल्लेख गरे । जनता राजतन्त्रतर्फ फर्कन नचाहे पनि अहिलेको व्यवस्थामा सन्तुष्ट समेत नरहेकाले नेपाल सुहाउँदो समाजवाद निर्माणका लागि सबै दलहरु तयार हुनुपर्ने धारणा ब्यक्त गरे ।

उनले धेरै मानिसहरु राजतन्त्रको वकालत गरेर हिडिरहँदा अग्रगमन चाहनेहरूबीच द्वन्द्व चर्किँदै गयो भने दुर्घटनाको सम्भावना बढ्दै गएको बताए । राजतन्त्र पक्षधरहरूलाई अहिले विदेशी शक्तिहरूले उचालेको दाबी गरेका महासचिव विप्लवले अबको विकल्प नेकपाले मात्रै दिन सक्ने दावी गरे ।

देशको भू–राजनीतिक परिस्थितिका कारण विदेशीहरूले यही बेला खेल्ने मौका पाएको भन्दै विदेशीले चाहँदैमा नेपालबाट गणतन्त्रको अन्त्य र राजतन्त्रको उदय नहुने ठोकुवा गरे । २०७२ सालमा जारी भएको संविधानले जनताको आवश्यकता तथा चाहनालाई पूरा गर्न नसकेकाले अहिलेको परिस्थिति आएको उनको भनाइ छ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था भयो भने अहिलेको भन्दा उन्नत व्यवस्था हुने भन्दै महासचिव विप्लवले कम्तिमा सरकारले निश्चित समयसम्म काम गर्न पाउने उल्लेख गरे । गणतान्त्रिक समाजवादमा नपुगिन्जेल नेपालमा समृद्धिको परिकल्पना गर्न नसकिने उनको भनाइ छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्