झापा, चैत ७ । उच्च महत्वाकांक्षाका कारण राजावादीहरुको आन्दोलनले एक ठाउँमा ल्याएपनि दुई झापाली नेताहरु राजेन्द्र लिङ्देन र दुर्गा प्रसाई नमिल्ने भएका छन् ।

राजतन्त्र पुनर्स्थापना नहुँदै सत्ता स्वार्थका कारण राजावादीहरु मिल्न नसकेका हुन् । लिङ्देन अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रसाईको अभियानमा पार्टीलाई मिसाउन नहुने बलियो मत प्रस्तुत भएको छ । राप्रपा नेताहरूले विशेषगरी राजावादी आन्दोलनमा संलग्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूहसँग सहकार्य गरेर आन्दोलनमा जान नसकिने स्पष्ट धारणा राखेका हुन् ।

मंगलबार भएको राप्रपाको कार्यसम्पादन समिति बैठकले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि अध्यक्ष लिङ्देनको अगुवाइमा आफ्नै आन्दोलनलाई निरन्तरता दिने निर्णय गरिसकेको छ ।
प्रसाईंलगायत केही राजावादीले आन्दोलनका लागि राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीको नेतृत्वमा समिति घोषणा गरेको भोलिपल्टै राप्रपाले छुट्टै आन्दोलनमा जाने निर्णय गरेको हो ।

राप्रपा बैठकमा नेताहरूले प्रसाईंको क्रियाकलाप अराजनीतिक हुनुका साथै राजनीतिक दल र नेतालाई अपमान गर्ने व्यवहारका कारण उनीसँग सहकार्य गर्न नसकिने धारणा राखेका थिए । प्रसाईंले राप्रपाको नेतृत्व नस्वीकार्ने नेताहरूको भनाइ थियो । पार्टीकै पुराना नेता सुवेदीलाई अलग्याएर जनआन्दोलन समिति बनाउनु र अन्य वरिष्ठ नेतालाई प्रयोग गर्नुले पनि प्रसाईं राप्रपालाई कमजोर बनाउन सक्रिय भएको उनीहरूको विश्लेषण थियो ।

केही दिनअघि प्रसाईले राजसंस्था जानुको सबैभन्दा ठुलो दोष राप्रपाको रहेको आरोप लगाएका थिए ।
राप्रपाले राजसंस्थालाई खोलामा लगेर तिलाञ्जली दिएको तर अहिले माहौल बनेपछि धमिलो पानीमा माछा मार्न लागेको उनको आरोप थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्