झापा, चैत ७ । जनप्रतिनिधि , राजनीतिक दलका नेतादेखि लिएर प्रहरी प्रशासन र पत्रकारहरुलाई समेत सामाजिक संजालमा मनपरी अश्लिल गाली गर्दै आएका झापा हल्दिवारी– १ का २३ वर्षीय नितेश भनिने नवराज ओलीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई चैत ३ गते काठमाण्डौको सोह्रखुट्टेबाट प्रहरीले पक्राउ गरी झापा ल्याएको छ । विदेशमा बसेर उनले झापाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेतादेखि लिएर प्रहरी प्रशासन र पत्रकारहरुलाई समेत सामाजिक सञ्जालको दुरुपयोग गर्दै गालीगलौच गर्ने, चरित्र हत्या गर्ने, विभिन्न आरोप लगाउने गरेका थिए ।
नेपाल फर्केपछि उनलाई भेट्न हल्दिवारी १ स्थित घरमा गत फागुन ३ गते प्रहरी टोली पुगेको थियो । प्रहरीलाई समेत उनले जथाभावी अश्लील गालीगलौच गरेका थिए ।
सो उजुरीका आधारमा पक्राउ परेका ओलीलाई ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले जानकारी दिए । उनलाई फौजदारी अपराध संहिता २०७४ अन्तर्गत अभद्र व्यवहार कसूरमा मुद्धा चलाइने डीएसपी खड्काल्े जानकारी दिए ।