झापा, चैत ७ । आफ्ना नेता खगेन्द्रराज आङदेम्वेलगायत तीन जनामाथि हत्या गर्ने योजनासहित आक्रमण गर्ने व्यक्तिहरुलाई पक्राउ गरी कार्वाही गर्न राष्ट्रिय युवा संघ बिर्तामोड नगर कमिटीले माग गरेको छ ।

युवा संघको बिर्तामोड नगर कमिटीले आज पत्रकार सम्मेलन गरी आफ्ना नेता आङदेम्वेलगायत तीन जनामाथि आक्रमण गरेको आरोपमा बिर्तामोड ४ बस्ने खगेन्द्र खालिङ र उनकै भतिज दुर्गा राई पक्राउ परेपनि घटनामा संलग्न अन्य केही फरार व्यक्तिहरुलाई चाँडो पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै युवा संघका बिर्तामोड नगर कमिटी अध्यक्ष रोहित ओलीले घटनामा संलग्नहरुलाई तत्काल कानुनी दायरामा ल्याई कठोर कारबाही गर्न माग गरे । गत फागुन २६ गते मध्यरातमा विर्तामोड नगरपालिका वडा नं. ४ भद्रपुर रोडमा युवा संघका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इञ्चार्ज आङदेम्वे तथा संघका विर्तामोड नगर कमिटी सदस्य विश्वदिप राजवंशी र अजय खवासमाथि आक्रमण भएको थियो ।

सांघातिक आक्रमणवाट घाइते बनेका आङदेम्वे हाल विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचाररत छन् । उनलाई लागेको चोटको सफल शल्यक्रियापश्चात् क्रमशः सुधारको क्रममा रहेको जनाइएको छ । राजवंशी ३ दिनको उपचारपश्चात् बीएण्डसी अस्पतालवाट डिस्चार्ज भएका छन् भने अजय खवास पनि ५ दिनको उपचारपश्चात् डिस्चार्ज भएका छन् । पत्रकार सम्मेलनमा नेपाली कांग्रेसनिकट तरुण दलका बिर्तामोड नगर कमिटी सभापति रमेश चौधरी, राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन बिर्तामोड नगर कमिटी अध्यक्ष प्रिन्स शेखलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्