
रमेश नेपाल,
नातिनातिना हजुरबा हजुरआमाका लागि मुकुट हुन् अनि छोराछोरीहरु बुवाआमाका लागि गर्व हुन् । भनिन्छ नि, साँवाको भन्दा बढी माया ब्याजको हुन्छ रे । त्यसैगरी हाम्रा मातापितालाई छोराछोरीको भन्दा बढी माया नातिनातिनाको हुन्छ रे । जब नातिनातिना जन्मन्छन् , तब हजुरबा हजुरआमा हर्षले गद्गद् हुन्छन् ।उहाँहरुलाई त्यो बखत स्वर्गीय आनन्दको अनुभूति हुन्छ रे ।
आज म मेरो बुवाले मेरो छोराप्रति देखेको सपना र ऊ जन्मदा मेरो बुवाको हर्षको बारेमा लेख्ने जमर्को गर्दैछु । आजबाट २०८१ सालको माध्यमिक शिक्षा (एसईई) परीक्षा शुरु भयो ।यो परीक्षा मेरो छोरा आयुशले पनि दिँदैछ । तसर्थ मैले यो बेला झल्यास्स मेरो बुवालाई सम्झेँ । बुवाले भन्न हुन्थ्यो कि –मलाई मेरो जेठो नातिले एसएलसी दिएको हेर्ने ठूलो रहर छ ( पहिले पहिले एसईईलाई एसएलसी भनिन्थ्यो) । ‘जब मेरो नातिले एसएलसी दिन्छ नि मेरो छाती हर्षले निकै चौडा हुनेछ, मेरो नातिले धेरै पढ्नु पर्छ किनकि मैले मेरा छोराहरुलाई धेरै पढाउन सकिनँ ।त्यसको साटो मेरा नातिनातिनाहरुले धेरै पढ्नु पर्छ ।मेरो सपना छ मेरा नातिनातिना कोहि डाक्टर बनून् ,कोहि सरकारी जागिरे बनून् ।यो नै मेरो अन्तिम सपना हो’ भन्नु हुन्थ्यो बुवा ।
मेरो छोराको जन्म २०६६ साल असार २८ गते शनिबार बिहान ९ बजेर ५५ मिनेटमा झापा दमकको आम्दा अस्पतालमा भएको हो ।सो दिन निकै ठूलो झरी परिरहेको थियो ।मेरो छोराको जन्म हुनेबित्तिकै सबैभन्दा पहिले मैले बुवालाई सुनाएँ, ‘बुवा नाति जन्मियो ।’बुवाले खुशी हुँदै सोध्नु भयो, ‘माईलीलाई कस्तो छ,अनि मेरो नातिलाई कस्तो छ ?’ मैले भने, ‘बुवा उसलाई पनि ठिकै छ नर्मलै भयो ।’बुवाको आवाजमा खुशी मिसिएको थियो ।,बुवाले भन्नु भयो,‘ डिस्चार्ज कतिखेर हुन्छ ?’ मैले भने ,‘बुवा नर्मल हो सायद आजै हुन्छ होला ।’ ‘ल ल फोन राख खर्च कति लाग्छ तँसंग थिएन भने मसंग अलि अलि थियो लगेको भए हुन्थ्यो’ भन्दै बुवाले फोन काट्नु भयो ।
सोही दिन बेलुका ४ बजे डिस्चार्ज भएर हामी घर आयौँ ।बुवाको आँखा बाटोतिरै रहेछ । हामी घर पुग्नेबित्तिकै बुवाले नातिलाई बोक्नु भयो अनि आँखाबाट हर्षको आँसु खसाल्दै मेरो नाति भन्दै सुमसुमाउन थाल्नु भयो ।नाति अलिकति पनि चुँ गर्नु हुँदैन थियो, बुवा दगुरेर हाम्रो कोठामा आएर हामीलाई कराउनु हुन्थ्यो ।बुवाले मेरो छोरी अर्थात नातिनीलाई पनि औधी माया गर्नु हुन्थ्यो । भाइ जन्मेपछि छोरी प्रायः बुवासँग सुत्थिन् ।हामीले भन्दा अधिक माया बुवाले गर्नु हुन्थ्यो नातिनीलाई पनि ।छोराको न्वारन गर्ने बेला बुवा आफै बस्नु भएको थियो पुरोहितसँग ।एवम् रितले छोरा हुर्कदै स्कुल जाने बेला भयो ।छोराको स्कुलको पहिलो दिन स्वस्तिका शिशु सदन शनिश्चरे बजारमा म आफैले लिएर गएँ ।छोरो रोएर तनाव ।कसो कसो झुक्याएर म घर फर्के ।बुवाले सोध्नु भयो, ‘मेरो नाति रोएन स्कुलमा ?’ मैले बुवालाई ढाँट्दै भने, ‘रोएन बुवा ।’ बेलुका स्कुलबाट घर फर्किसकेपछि रोएर चक्कर गर्यो ।अनि हजुरबाको काखमा बस्दै मसँग रिसायो ।हरेक दिन स्कुल पठाउँदा रुन्थ्यो छोरा ।बुवाको मन मान्दैन थियो दिउँसो गएर परबाट हेर्नु हुँदो रहेछ नाति के गर्दैछ भनेर । नाति खेलिरहेको देख्दा खुशी भएर आउनु हुन्थ्यो भने रुँदैछ भने स्कुल छुट्टी नै नभई लिएर आउनु हुन्थ्यो ।
छोरा दिन प्रतिदिन हुर्कदै थियो । क्रमशः कक्षा चढ्दै थियो ।बुवा अचानक बिरामी हुनु भयो । जतिखेर मेरो छोरा ५ कक्षामा पढ्थ्यो । म मुलघरबाट अलग्गै बस्न थालेको थिएँ तर पनि हरेक दिन बुवा नातिनातिनी भेट्न मेरोमा आउनु हुन्थ्यो ।नातिनातिनी पनि हजुरबा भनेपछि हुरुक्कै गर्ने ।बुवा बिरामी भएपछि हिड्न अलिक गाह्रो हुन थाल्यो ।म पसलबाट घर पुगेपछि छोराछोरी बुवाघर जाऔं भन्थे अनि हामी सबै बुवाघर जान्थ्यौँ ।बुवाले संसार छाडेपछि सबै नातिनातिना अत्यधिक धेरै रोएका थिए ।बुवाको शबलाई दाहसंस्कारको लागि लिएर जाँदा बुवालाई कहाँ लगेको भन्दै चिच्याई चिच्याई रोएका थिए ।बुवाले आफ्नो नाति धेरै पढेर ठूलो मान्छे बन्छ,सबैले मान्ने गन्ने हुन्छ भन्नु हुन्थ्यो । बुवाको ठूलो सपना थियो नाति कलेज गएको हेर्ने ।

हो, त्यही बुवाले सपना देखेको र आश गरेको नाति अर्थात मेरो छोरा आजबाट एसईई परीक्षा दिँदैछ । बिडम्बना , नातिले यो परीक्षा दिएको हेर्ने रहर पाल्नु भएका बुवा आज हामी माझ हुनुहुन्न ।नाति ५ कक्षामा पढ्दै गर्दा संसारबाट बिदा लिनु भएको थियो बुवाले ।बुवा ,हो आज तपाईको नातिले स्कुल लेभलको अन्तिम परीक्षा दिइरहेको छ ।तपाईको सपनालाई यथार्थमा बदल्न उसले सक्दो प्रयास गर्नेछ ।तपाईले मलाई सिकाएको संस्कार म उसलाई पनि सिकाउने छु । उसलाई पनि थाहा छ कि तपाईले उसलाई दिएको माया र ऊप्रति देखेको सपना ।
आज सायद तपाईं भैदिएको भए तपाईको चरणको स्पर्श गरेर मात्र ऊ परीक्षा दिन जान्थ्यो होला । तपाई भएको भए आज उसले परीक्षा दिँदै गर्दा मभन्दा बढी खुशी तपाई हुनुहुन्थ्यो होला ।बुवा मलाई थाहा छ तपाईं जहाँ भए पनि हामीलाई सदैब आशीर्वाद प्रदान गरिरहनु भएको छ ।तपाईका नाति नातिनालाई आशीर्वाद दिइरहनु भएको छ ।तपाईले हामी र हाम्रा सन्तानप्रति गरेको त्याग र तपस्याले पक्कै पनि तपाईका नाति नातिना तपाईले भनेझै कोही डाक्टर र कोही सरकारी जागिरे बन्ने छन् । छोरा आयुषलाई परीक्षा सफलताको शुभकामना !!!