दमक, चैत ७ । झापा दमकको इसीडीसी स्कुलमा विवाद भएको छ ।

दमक नगरपालिका वडा नम्बर ३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा रहेको इसीडीसी बोर्डिङ स्कुलमा विद्यालयका प्रधानाध्यापक मनिहाङ सुब्बा र लेखापाल दावा तामाङलाई सोही बिद्यालय ब्यवस्थापन समितिको निर्णयले चैत ४ गते अवकाश दिइएको थियो । सोही विषयलाई लिएर चैत ५ गते सोही बिद्यालयका सम्पूर्ण शिक्षकहरुले सामूहिक राजीनामा दिएका थिए ।
राजीनामापछि विद्यार्थीहरुको पढाइमा बाधा पुगेको भन्दै अभिभावकहरुले विवाद गरेका हुन् । आज दिउँसो अन्दाजी १२ः४५ बजे स्थानीय अभिभावकहरु भेला भई पुराना सम्पूर्ण शिक्षकहरुलाई पुनः नियुक्ति गर्नु पर्ने माग राखी नाराबाजी गरेका थिए । इलाका प्रहरी कार्यालय दमकबाट ७ जना र सशस्त्र प्रहरी बल बेलडाँगीबाट ९ जनाको टोली खटिएर शिविर ब्यवस्थापन समितिका सचिव संचहाङ सुब्बालाई बोलाई छलफल गरिएको प्रहरीले जनाएको छ ।