झापा, चैत ८ । इलाममा ४ रोपनी अफिम खेती प्रहरीले नष्ट गरेको छ ।

इलामको फाकफोकथुम गाउँपालिका वडा नं. ३ सल्लेरीमा अफिम खेती लगाएको भन्ने बिशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मंगलबारे र प्रहरी चौकी आमचोकबाट प्रहरी टोली खटिएर हिजो अफिम खेती फडानी गरेको हो । फाकफोकथुम गाउँपालिका वडा नं. ३ सल्लेरीको बिभिन्न स्थानमा अन्दाजी ४ रोपनी क्षेत्रफलमा लगाएको अफिम खेती इलाम प्रहरीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मानबहादुर राईले बताए । सो अफिम कसले लगाएको हो भन्ने खुलेको छैन ।

“अवको युद्ध दुर्व्यसनविरुद्ध” भन्ने नाराका साथ दु्र्व्यसन विरुद्धको अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय इलामले लागूऔषध रोकथाम तथा नियन्त्रण सम्बन्धमा बिशेष अपरेशन संचालन गरेको डीएसपी राईले जानकारी दिए । अपरेशनसंगै इलामका ग्रामीण भेगहरुमा प्रहरीले सचेतनामुलक कार्यक्रमसमेत संचालन गरिरहेको छ । युवामाझ लागूऔषध दुर्ब्यसनको समस्या बढ्दै गएपछि इलाम प्रहरीले यो अभियान शुरु गरेको डीएसपी राईले बताए ।

त्यस्तै गएराति अन्दाजी ९.२० बजे सुनसरी इनरुवा –९ जमुवा चोकमा बलाहाबाट सत्तरझोडातर्फ जाँदै गरेको नम्बर नखुलेको २ वटा मोटरसाइकलमा लोड गरी पोकामा लाँदै गरेको अवस्थामा अन्दाजी ५० केजी गाँजा बरामद भएको छ । प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकलमा लोड गरेको सामान छोडेर ती मोटरसाइकल फरार भएका थिए । उक्त सामान खोली हेर्दा ३ वटा पोकामा अन्दाजी ५० केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ ।