
झापा,चैत ८ । भद्रपुर नाकाबाट ठूलो मात्रामा लागूऔषध ब्राउनसुगर भित्र्याउने एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरबाट खटिएको टोलीले बिहीबार दिउँसो ३ः४० बजेको समयमा भद्रपुर नगरपालिका–४ स्थित डाँगीबारी क्षेत्रबाट तेह्रथुम जिल्ला आठराई गाउँपालिका–५ घर भई हाल झापा कनकाई नगरपालिका–५ दुर्गापुर बस्ने २१ वर्षीय सुन्दर सिवालाई २१ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ पैदल आइरहेका सिवालाई सीमामा तैनाथ सशस्त्रले शङ्का लागेर चेकजाँच गर्दा उनले बोकेको झोलामा सुगरफ्री बिस्कुटको प्याकेटभित्र लुकाइछिपाई ल्याएको ३ पोका ब्राउनसुगर फेला परेको थियो । साथै नगद ३ हजार ५३० रुपैयाँ, एउटा मोबाइललगायतका सामान समेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई ब्राउनसुगरसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ । उनीमाथि अनुसन्धान भइरहेको डीएसपी खगेन्द्र खड्काले जानकारी दिएका छन् ।