झापा, चैत ९। नेकपा एमालेनिकट राष्ट्रिय युवा संघका नेता खगेन्द्रराज आङदेम्बे लगायतमाथि सांघातिक हमला गर्नेहरुको संख्या यकिन हुन सकेको छैन ।

घाइतेहरुले आफूहरुमाथि आक्रमण गर्ने ४–५ जना रहेको बताइरहँदा प्रहरीले हमलामा तीनजनाको संलग्नता देखिएको जनाएको छ । आङदेम्बेमाथि हमला गरेको आरोपमा बिर्तामोड ४ बस्ने खगेन्द्र खालिङ र उनकै भतिज दुर्गा राई पक्राउ परिसकेका छन् ।
गत फागुन २६ गते मध्यरातमा विर्तामोड नगरपालिका वडा नं. ४ भद्रपुर रोडमा युवा संघका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इञ्चार्ज आङदेम्वे तथा संघका विर्तामोड नगर कमिटी सदस्य विश्वदिप राजवंशी र अजय खवासमाथि आक्रमण भएको थियो । युवा संघको बिर्तामोड नगर कमिटीले आङदेम्वेलगायत तीन जनामाथि आक्रमण गरेको आरोपमा खालिङ र उनका भतिज दुर्गा पक्राउ परेपनि घटनामा संलग्न अन्य केही फरार व्यक्तिहरुलाई चाँडो पक्राउ गरी कानुनी दायरामा ल्याउन केही दिनअघि पत्रकार सम्मेलनमार्फत माग गरेको थियो । प्रहरीले घटनामा संलग्न तीनजनाको संलग्नता देखिएको बताउँदै फरार रहेका एकजनाको खोजी भइरहेको जनाएको छ ।
सांघातिक आक्रमणवाट घाइते बनेका आङदेम्वे विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार गरी दुई दिनअघि डिस्चार्ज भएका छन् । उनलाई लागेको चोटको शल्यक्रिया गरिएको थियो । राजवंशी र खवास पनि उपचारपश्चात् डिस्चार्ज भएका छन् ।