
झापा,चैत ९ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशले कोशी प्रदेशलाई हराउँदै प्रतियोगिताको तेस्रो जित हासिल गरेको छ । बागमतीले कोशीलाई १३१ रनले हराएको हो।
लमहीस्थित देउखुरी क्रिकेट रंगशलामा टस जितेर ब्याटिङ गरेको बागमतीले २४० रन बनाएको थियो। बागमतीले दिएको २४१ रनको लक्ष्य पछ्याएको कोशी २५.३ ओभरमा १०९ रन बनाउँदै अलआउट भयो।
कोशीका लागि ऐश भट्टराईले सर्वाधिक ३७ रन बनाए। उनले ४९ बलमा ५ चौका प्रहार गरे। सुजन थपलियाले २५ रन बनाए। फिर्दोस अन्सारीले २४ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बागमतीको लागि सूर्य तामाङले सर्वाधिक ५ विकेट लिए। रिजन ढकालले ३ विकेट लिँदा साकार गजुरेलले २ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको बागमती ४९.३ ओभरमा २४० रन बनाउँदै अलआउट भएको थियो। बागमतीका लागि शुभ कंसाकारले सर्वाधिक ३९ रन बनाए। उनले २८ बलमा ६ चौका र १ छक्का प्रहार गरे।
ओपनरद्वय आशुतोष घिरौया र इशान पाण्डेले क्रमशः २९ र २५ रन बनाए। कप्तान पृथु बास्कोटाले २४ रन बनाए। विपिन आचार्यले २५, सोनु देवकोटाले १८, गौतम केसी १६ र सूर्य तामाङले १७ रन बनाए। रिजन ढकाल २२ रनमा अविजित रहे।
कोशीका लागि सुजन थपलिया र प्रकाश कार्कीले समान २–२ विकेट लिए। फिर्दोस अन्सारी, ज्ञानेन्द्र श्रेष्ठ र दिपेश कँडेलले १–१ विकेट लिए। कोशीले ७ खेलमा १ जित र ६ हार बेहोरेको छ। बागमतीले समान ७ खेलबाट ३ जित ४ हारसहित ६ अंक जोडेको छ।