झापा,चैत १० । चालु आर्थिक वर्ष २०८१-८२ को आठ महिनामा धान र चामलको आयात दोब्बरले बढेको छ । भन्सार विभागका अनुसार उक्त अवधिमा नेपालले २९ अर्ब रुपियाँ बराबरको धान र चामल आयात गरेको छ ।
जसमध्ये विगत आठ महिनामा १६ अर्ब ७१ करोड रुपियाँ बराबरको धान आयात भएको छ । गत आवको सोही अवधिमा आठ अर्ब ६४ करोड रुपियाँको धान आयात भएको थियो । तथ्याङ्कले धानको आयात करिब दोब्बरले बढेको देखाउँछ । त्यस्तै आठ महिनामा १२ अर्ब ३६ करोड ७२ लाख रुपियाँ बराबरको चामल आयात भएको छ । गत आवको सोही अवधिमा छ अर्ब ३९ करोड ६२ लाख १३ हजार रुपियाँ बराबरको चामल आयात भएको थियो ।
धान तथा कृषिजन्य उत्पादन वृद्धि गर्ने लक्ष्यसहित सरकारले चालु आवमा २७ अर्ब रुपियाँमा रासायनिक मलको अनुदानका लागि विनियोजन गरेको छ । सरकारी अनुदान बढ्दै गए पनि धानचामलको आयात घट्नुको सट्टा झन् दोब्बरले बढेको तथ्याङ्कले देखाउँछ ।
मुलुकमा स्थानीय उत्पादनले बजार माग धान्न नसक्दा ठुलो परिमाणमा खाद्यान्न आयात भएको हो । गत आव २०८०-८१ मा २२ अर्ब बराबरको धानचामल आयात भएको थियो । यस वर्ष आठ महिनामै २९ अर्ब बराबरको धानचामल आयात भएको छ ।

यस्तै आव २०७९-८० मा ३६ अर्ब ५० करोड बराबरको धानचामल आयात भएको थियो । सामान्य अवस्थामा वार्षिक ५० अर्ब रुपियाँ बराबरको धानचामल आयात हुने गरेकोमा विगतमा भारतले बासमती चामल आयातमा भन्सार महसुुल लगाएकाले पनि आयातमा कमी भएको थियो । यस वर्षमा भने ५० अर्ब बराबरको धान चामल आयात हुने तथ्याङ्कले देखाएको छ ।

विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि फागुन महिनासम्म ४२ अर्ब ९३ करोड ५४ लाख ५१ हजार रुपियाँ बराबरको कुल खाद्यान्न (धान, चामल, गहुँ, कोदो, गहुँ) आयात भएको छ । गत वर्ष सो अवधिमा ३२ अर्ब २९ करोड ९६ लाख रुपियाँ बराबरको खाद्यान्न आयात भएको थियो । गत वर्षको तुलनामा नौ अर्ब रुपियाँ बराबरको खाद्यान्न आयात बढी भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यस वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । मुलुकमा वार्षिक ६५ देखि ७० लाख मेट्रिक टन धानको आवश्यक पर्ने बताएको छ । स्थानीय माग अनुसार धानको उत्पादन नहुँदा ठुलो परिमाणमा धानचामल आयात भएको छ ।

मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मीले वार्षिक १० लाख मेट्रिक टन धान अपुग हुने गरेको बताए । स्थानीय उत्पादनले माग धान्न नसक्दा र मसिनो बास्नादार चामलको प्रयोग धेरै हुन थालेपछि यस वर्ष धानचामल आयात वृद्धि भएको उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्