झापा,चैत १० । खोटाङको रावा बेसी गाउँपालिका–२ खार्पास्थित खार्पा प्रहरी चौकीको नवनिर्मित सुविधा सम्पन्न आरसिसी भवनको उद्घाटन गरिएको छ । पूर्व खार्पा गाउँ विकास समितिको पुरानो भवनमा बस्दै आएको खार्पा प्रहरी चौकीको नवनिर्मित भवन कोशी प्रदेश प्रहरी प्रमुख (प्रहरी नायव महानिरीक्षक) राजन अधिकारीले आइतबार उद्घाटन गरेका हन् ।

सुविधा सम्पन्न भवनको प्रहरी नायव महानिरीक्षक अधिकारीले रिवन काटेर औपचारिक रुपमा उद्घाटन गरेका छन् । २०७६ सालमा स्थापना भएको खार्पा प्रहरी चौकीले यस अघि गाविसको पुरानो भवनबाट सेवा प्रदान गर्दै आएको थियो । हाल नयाँ भवन निर्माण भएर प्रयोगमा आएसँगै सेवा प्रवाहमा सहज हुने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डिएसपी) प्रतिक बिष्टले बताए ।

सानो ठुलो गरी ११ वटा कोठा रहेको साढे दुई तले भवनमा कार्यालय प्रमुख कक्ष, सञ्चार कक्षहरुसहित एटेज शौचालय सुविधिसहितको महिला तथा पुरुष हिरासत कक्ष, एटेज शौचालयसहितको महिला र पुरुष ब्यारेक, कार्यालय प्रमुख आवाश, मनोरञ्जन हल लगायतका कोठाहरु निर्माण गरिएको छ । भवनसँगै किचन पनि निर्माण गरिएको छ।

भवन उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक अधिकारीले उक्त क्षेत्रको सुरक्षाको स्थायित्वको लागि नवनिर्मित भवनले अहम भूमिका निर्वाह गर्ने विश्वास रहेको बताएका छन् ।

विशेषगरी पहाडी क्षेत्रमा प्रहरीले समाजमा हुने अपराध रोकथात तथा नियन्त्रण गर्ने मात्र नभएर अहिले विभिन्न प्राकृतिक एवं अप्राकृतिक विपतहरु पनि रोकथाम तथा नियन्त्रण गर्नु पर्ने उनको भनाइ छ। जसकारण यस्ता सुविधा सम्पन्न भौतिक संरचनाले प्रहरीलाई सेवा गर्न मनोवल बढ्ने उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्