झापा, चैत ११ । सुनसरीको दुई अलग अलग घटनामा श्रीमतीले घरमा आगो लगाइदिएकी छन् भने सालोले मोटरसाइकलमा आगो लगाई क्षतिग्रस्त पारेका छन् ।

आज बिहान ३.१० बजे इटहरी ४ हलगडा बस्ने सन्तोष धामीको एक तले टिनको छाना र बाँसको टाटीबेरा भएको घरमा उनकै श्रीमती अन्दाजी ४० वर्षकी पवनी धामीले आफै आगो लगाइदिएकी हुन् । आगलागीबाट घरमा भएको अन्नपात, काठपात, भाडाबर्तन पूर्णरुपमा जल्दा डेढ लाख बराबर क्षति भएको छ । आगजनी गर्ने पवनी धामी फरार रहेकी छन् । आगो लगाउने बेला श्रीमान घरमा थिएनन् । आगो लगाउने पवनी मानसिक रोगी रहेको बुझिएको छ ।

त्यस्तै गएराति ९.३७ बजे सुनसरी रामधुनी नगरपालिका ७ राश्वतालमा पार्किङ गरिराखिएको धनकुटा सहिदभूमि गाउँपालिका २ बस्ने २७ वर्षीय संयोग राईको को.२३ प.६९७५ नम्बरको पल्सर मोटरसाइकल उनको सालो रामधुनी नगरपालिका ७ बस्ने २७ वर्षीय जंगे भन्ने युनिक राईले आगो लगाइदिएका छन् । युनिकले कुदाउन नदिएको निहुँमा आगो लगाइदिएको बताइएको छ । आगजनीबाट मोटरसाइकल पूर्णरुपमा जलेर क्षतिग्रस्त भएको छ । मोटरसाइकलमा आगो लगाउने युनिकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पकलीमा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्