झापा, चैत ११ । इलाममा १३ वर्षीया नाबालिकालाई बलात्कार गरिसकेपछि ३ लाख रुपैयाँ दिएर मिलाउन खोज्ने चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा बलात्कारमा संलग्न इलाम माई नगरपालिका २ बस्ने २४ वर्षीय केशब गिरी, उनका बुवा ५८ वर्षीय केदारनाथ गिरी , काका ४३ वर्षीय यादव भनिने नारायण गिरी र छिमेकी ३८ वर्षीय पाँचथरे भनिने तुलाधर अर्याल रहेका छन् । लुकिछिपी बसिरहेको अबस्थामा उनीहरुलाई हिजो इलाम प्रहरीले पक्राउ गरेको हो । पीडिकका बुवा केदारनाथ गिरी र छिमेकी तुलाधर अर्याललाई घरैबाट तथा पीडक केशव गिरी र उनका काका नारायण गिरीलाई इलाम र झापाको सिमानामा लुकिछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ ।
आरोपितहरुलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक संजिव बोगटीको कमाण्डमा प्रहरी टोली खटिएको थियो । उनीहरुलाई जिल्ला अदालत इलामबाट ७ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय इलाममा राखेर अनुसन्धान भइरहेको छ ।
गत चैत ६ गते साँझ ६ः३० बजे इलाम माई– २ सितलीस्थित चिया बगानमा माई नगरपालिका २ बस्ने २४ वर्षीय केशव गिरीले वडा नं ४ बस्ने १३ वर्षीया नाबालिकालाई ललाई फकाई डर त्रासमा पारी जबरजस्ती करणी गरेका थिए । त्यस घटनाको जानकारी प्राप्त हुनसाथ प्रहरी चौकी दानाबारीबाट प्रहरी टोली खटिएर खोजतलास गर्दा पीडिक फरार भएका थिए ।
त्यसबीचमा छिमेकी अर्यालले आफ्नो घरमा पीडित पक्षलाई बोलाई ३ लाख रुपैयाँ दिएका थिए । अनुसन्धानको क्रममा उक्त रकम पीडितका आमाको साथबाट बरामद गरिएको छ । आफूलाई प्रभाव र दबाबमा पारी घटना मिलाउन खोजेको भन्दै पीडितकी आमाले चैत ९ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।