झापा,चैत ११ । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता, आजको आवश्यकता’ भन्ने नाराका साथ आज विश्व क्षयरोग दिवस मनाइँदै छ । नेपालमा भएका क्षयरोगका बिरामीमध्ये ४० प्रतिशत बिरामी उपचारको दायरा बाहिर रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको अनुमान छ ।
केन्द्रका अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा ४० हजार ७७६ जना क्षयरोगका बिरामी उपचाररत छन् । नेपालमा वार्षिक ६८ हजार क्षयरोगका बिरामी हुने गरेको केन्द्रको तथ्याङ्क छ । उपचारको दायरामा नआउने र लुकेर बस्ने बिरामीको खोजी गर्न केन्द्रले विभिन्न कार्यक्रम सञ्चालन गरेको केन्द्रकी सूचना अधिकारी तथा नर्सिङ अधिकृत थुमा पुनले बताइन् । यसमध्ये क्षयरोगी बिरामीमा पुरुषको संख्या ६१ प्रतिशत तथा महिलाको संख्या ३९ प्रतिशत छ ।
क्षयरोगका लागि १ अर्ब १५ करोड २० लाख बजेट छुट्ट्याए पनि हाल केन्द्रसँग करिब ९० करोडमात्रै छ । यस्तै, क्षयरोग उपचारमा देशभरका बिरामीको समान पहँुच नहुनु, क्षयरोग उपचार र व्यवस्थापनमा निजी क्षेत्रको अर्थपूर्ण सहभागिता नहुनु लगायत चुनौती रहेको पुनले बताइन् ।
स्वास्थ्य क्षेत्रभित्र र बाहिर रणनीतिक साझेदारहरूबिच सीमित संलग्नता लगायत चुनौती पाइएको छ । नेपालमा क्षयरोगको उपचार निःशुल्क गरिए पनि स्वास्थ्य संस्थासम्म पुग्नका लागि यातायात खर्च आवश्यक पर्ने भएकाले कतिपयले औषधि उपचारमा लापरबाही गरेको विज्ञ बताउँछन् । यो सरुवा रोग भएकाले उपचारविना घरमा बस्दा परिवारका अन्य सदस्यलाई सर्ने सम्भावना बढ्ने छाती रोग विशेषज्ञ डा.दीर्घसिंह बम बताउँछन् । ‘जहाँ गरिबी छ, त्यहाँ टीबी (क्षयरोग) छ,’ उनले भने । गरिब मान्छेलाई खान–लाउनकै सकस हुने भएकाले समयमै रोग पहिचान गर्न नसक्दा यो रोग फैलिने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्