झापा , चैत १२ । झापाको कन्काईमा घाइते श्रीमानसंग मृत भेटिएकी ४० वर्षीया मनिषा मग्रान्तीले झुन्डिएर आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।

आज बिहान उनीहरु बस्ने घरको कोठाको भुइँमा उनी मृत फेला परेकी थिइन् भने सोही कोठाको काठको बलोमा नाइलनको सल झुन्डिएको अवस्थामा रहेको थियो । घटनाको प्रकृति हेर्दा मनिषाले सलको पासो लगाई झुन्डिएको र पछि पासो खोलेको जस्तो देखिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । उनले मृतकको घाँटीमा सलको पासोको डाम देखिएको र धारिलो हतियार प्रहार भएको नदेखिएको जानकारी दिए ।
अर्को कोठामा मृतकका श्रीमान ३९ वर्षीय लालबहादुर सार्की घाँटीमा धारिलो हतियार रेटी घाइते अवस्थामा फेला परेका थिए । श्रीमतीले झुन्डिएर आत्महत्या गरेपछि लालबहादुरले धारिलो हतियारले घाँटी रटेको हुनसक्ने आशंका गरिएको छ । घाइते लालबहादुरको छेउमा खुकुरी र छुरी फेला परेको छ । मृतकको शवलाई पोष्टमार्टमको लागि धरान पठाइएको छ भने घाइतेलाई प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ ।
दुवै दम्पत्ती दिनहुँ झैझगडा गर्दै आएका थिए । गएराति पनि दुवै जनाले मादक पदार्थ सेवन गरी झगडा गरेको स्थानीयले बताएका छन् । घटनास्थलमा झगडा गरेर मोबाइल फुटाएको भेटिएको थियो । श्रीमती झुन्डिएपछि लालबहादुरले छिमेकीहरुसंग हारगुहार मागेका थिए । तर छिमेकीहरुले सँधैको जस्तो झगडा चलिरहेको भन्दै आएनन् ।
लालबहादुरको परिवार केही महिनाअघि मात्र त्यहाँ आएको थियो । ताप्लेजुङ सिलाम घर भई कनकाई ५ नारायणदल चौक बस्ने योगेन्द्र बस्यालको घरमा २÷३ महिना अगाडीदेखि उनीहरु डेरा गरी बसेका थिए ।