झापा, चैत १२ । सशस्त्र प्रहरी बलले ठूलो परिमाणमा अबैध कपडा तथा मोर्टर पार्टस् बरामद गरेको छ ।

मेचीनगर ६ झिल्केघाम टोलका मदन पोख्रेलको घरबाट ३९ बोरा र सोही ठाउँ बस्ने उत्तम ठकुरीको घरबाट २० बोरा गरी अनुमानित मूल्य रु. एक करोड बराबरको बिभिन्न प्रकारका कपडा तथा मोर्टर पार्टस् बरामद गरिएको हो ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे.क्वा. झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीलाई प्राप्त बिशेष सूचनाको आधारमा आज बिहान ६ बजे मेचीनगर ६ झिल्केघाम टोलमा सशस्त्र प्रहरी बल, नेपाल नं २ गण हे.क्वा. झापाबाट डीएसपी मदनकुमार रसाईलीको कमाण्डमा २३ जनाको टोली खटिएर उक्त एरिया निगरानी गरेको थियो । दिउँसो १२ः३० बजे राजश्व अनुसन्धान कार्यालय इटहरीबाट अनुसन्धान अधिकृत बिदुर गौतमको टोली आएपछि ती सामान बरामद गरिएको हो ।
बरामद सामान आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी लैजाने प्रकृयामा रहेको सशस्त्र प्रहरी बल, नेपाल नं २ गण हे.क्वा. झापाका सूचना अधिकारी डीएसपी सुमन पोख्रेलले जानकारी दिए ।