बिर्तामोड , चैत १३ । बचत फिर्ता नगर्ने बिर्तामोडका चारवटा सहकारी संस्थाहरुमाथि नगरपालिकाको न्यायिक समितिमा उजुरी परेको छ ।

समाजसेवी बचत तथा ऋण सहकारी संस्था, त्रिनेत्र बचत तथा ऋण सहकारी संस्था , देउराली बचत तथा ऋण सहकारी संस्था र गरामनी कृषि सहकारी संस्थामाथि उजुरी परेको हो ।
त्रिनेत्र बचत तथा ऋण सहकारी संस्थामाथि ७ जना , देउराली बचत तथा ऋण सहकारी संस्थामाथि ४ जना तथा समाजसेवी बचत तथा ऋण सहकारी संस्था र गरामनी कृषि सहकारी संस्थामाथि एक–एक जनाले उजुरी दिएको बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत मोहन सुवेदीले जानकारी दिए । छलफलपछि गरामनी कृषि सहकारी संस्थाले बचत फिर्ता गरिरहेको नगरपालिकाको न्यायिक समितिले जनाएको छ । उजुरी परेपनि केही सहकारीका संचालकहरु सम्पर्कमा नै आएका छैनन् । बिर्तामोडको अर्को एउटा सहकारीविरुद्ध पनि उजुरी परेको थियो । तर , त्यस उजुरीमाथि छलफल भई सहमति भइसकेको न्यायिक समितिले जनाएको छ ।
बिर्तामोड नगर क्षेत्रमा प्रदेश मातहतका ८८ र नगरपालिकाले नियमन गर्ने ३२ वटा सहकारी संस्था दर्ता रहेका छन् । त्यसमध्ये आधाजति निश्क्रिय छन् । साझा संस्था गरामनी , साझा संस्था बिर्ताबजार , महिला बहुमुखी सहकारी संसथा लि. गरामनी , पौरखी बचत तथा ऋण सहकारी संस्था लि. गरामनी , नवज्योति अपाङ्ग सहकारी संस्था गरामनी , महिला जागण बहुमुखी सहकारी संस्था अनारमनी , शान्तिटोल भूमिहीन कृषि सहकारी संस्था अनारमनी , पशुपति मौरीपालन सहकारी संसथा , दुर्गा सुपारी सहकारी संस्था , हाम्रो ओम नम शिवाय सहकारी संस्था , शुभम् कृषि सहकारी संस्था निष्क्रिय रहेका हुन् ।
नियमितरुपमा कारेबार नगर्दा बिर्तामोडका धेरै सहकारी संस्थाले वार्षिक प्रतिवेदन नगरपालिकामा बुझाएका छैनन् । गत वर्ष प्रदेश मातहतका ४० वटा र स्थानीय तह मातहतका १३ वटाले मात्र बुझाएका थिए । चालु आर्थिक वर्षमा प्रदेश मातहतका ३३ वटा र स्थानीय तह मातहतका १६ वटा सहकारीले वार्षिक प्रतिवेदन बुझाएको सहकारी अधिकृत सुवेदीले जानकारी दिए । नियमित कारोबार नगरेर साधारण सभा नगर्ने सहकारीहरु धेरै छन् । साधारण सभा नगरेर वार्षिक प्रतिवेदन नबुझाएका हुन् । सहकारीहरुले नगरपालिकामा मासिक प्रतिवेदन र समष्टिगत फारम भरेर बुझाउनु पर्ने हुन्छ ।
यसैबीच उजुरी परेपछि बिर्तामोडको स्वरोजगार भवानी बचत तथा ऋण सहकारी र दमकको एभरेष्ट बचत तथा ऋण सहकारी संस्थामाथि प्रदेश रजिष्टार कार्यालयले छानबिन गरिरहेको बताइएको छ ।