बिर्तामोड , चैत १३ । बिर्तामोडको सञ्जिवनी अस्पताल अगाडि गत भदौमा दुईवटा मोटरसाइकल जुध्दा त्यतिबेला एकजना चालकको ज्यान गएकोमा अर्का घाइते चालकको पनि मृत्यु भएको छ ।

घाइतेको करिव ६ महिनापछि मृत्यु भएको हो । गत भदौ १३ गते राति १२ः४० बजे पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे. ५ प. ५५६८ नं.को मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको प्र१–०१–०१३ प ५१४० नं.को अर्को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा मे ५ प ५५६८ नं.मोटरसाइकलका चालक कनकाई –५ बस्ने २६ वर्षीय सागर घिमिरे गम्भीर घाइते भई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

अर्का प्र १–०१–०१३ प ५१४० नं.को मोटरसाइकलका चालक भद्रपुर –१० बस्ने २९ वर्षीय सरोज बस्नेत घाइते भएका थिए । टाउको र हात खुट्टामा चोट लागेर गम्भीर घाइते बस्नेतलाई बिभिन्न अस्पतालमा उपचार गराउँदा स्वास्थ्यमा सुधार नआई अचेत अवस्थामा रहेकोमा हिजो बिहान उनको घरमै मृत्यु भएको हो ।

कानुनी प्रकृया पुरा गरी शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्