झापा, चैत १३ । अर्घाखाँचीको भुवनपाटामा आज साँझ भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ। २७ जना घाइते भएका छन्।

दुर्घटनामा रुपन्देही बुटवल उप–महाननगरपालिका–८ का ५५ वर्षीया जमुना बस्याल, नवलपरासीको पश्चिम भुमहीकी ४५ वर्षीया उमा न्यौपाने र पश्चिम बर्दघाट बस्ने ४५ वर्षीय गाडी चालक मदन कुमार विकको मृत्यु भएको हो। मृतकमध्ये एकजनाको नाम खुलेको छैन।
शितगंगा नगरपालिका–२ सितापुरको भुवनपाटामा लु २ ख ३०३ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए।
घाइतेमध्ये ६ जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ।