द्रोण अधिकारी,
भद्रपुर । विगत ६ वर्षयता म्याद थप नहुँदा निर्माण  कार्य रोकिएर अलपत्र परेको सदरमुकाम चन्द्रगढीमा रहेको गिरिजाप्रसाद कोइराला स्मृति सभागृहको निर्माण कार्य अघि बढाउने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबद्धता जनाएका छन् ।

भद्रपुरका नगर प्रमुख गणेश पोखरेल नेतृत्वको टोलीसित प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले भवन निर्माणमा रहेका समस्या हल गरेर निर्माण अवधि थप हुने वातावरण बनाउने प्रतिबद्धता जनाएका हुन् ।
पूर्वउपप्रधानमन्त्री एवं राष्ट्रियसभामा काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, भद्रपुरका २, ४ र ७ का वडाध्यक्ष, कार्यपालिकाका सदस्य सहभागी प्रतिनिधिमण्डलले अलपत्र अवस्थामा रहेको सभागृहको निर्माण कार्य सुचारु गराउन ज्ञापनपत्र बुझाएपछि प्रधानमन्त्री ओलीले गणतन्त्र नेपालको स्मृतिमा निर्माण भइरहेको भवन अलपत्र नपर्ने वचन दिएको नगर प्रमुख पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार प्रधानमन्त्री ओलीलाई प्रतिनिधिमण्डलले रोकिएको निर्माण कार्यलाई अघि बढाउन देखिएका बाधा अबरोध हटाउन माग गरिएको नगरसभाको निर्णयसहित विभिन्न विकल्प समावेश गरी सुझाव दिएको छ ।

साविक जिल्ला विकास समितिबाट दुई वर्षमा निर्माण सम्पन्न हुने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएपनि ठेकेदारको पटक–पटक माग गरेको म्याद थप नभएको कारण कानुनी समस्याका उत्पन्न भएर निर्माण कार्य अलपत्र परेको हो ।
यसैबीच सो टोलीले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, राप्रपा अध्यक्ष एवम् झापा ३ का संघीय सांसद राजेन्द्रप्रसाद लिङ्देनलाई समेत भवन निर्माणको वातावरण बनाइदिन माग राखेर स्मरणपत्र बुझाएको छ । टोलीमा संलग्न भद्रपुर नगर प्रमुखका सचिवालय प्रमुख राजा मण्डलका अनुसार झापा ३ लगायत देशकै पहिचान बन्न सक्ने सो भवन निर्माण सम्पन्न गराउन सहयोगी भूमिका खेल्ने दुवै नेताले वचन दिएका छन् ।

पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको नाममा निर्माण सुरू भएको सो सभागृहको २०७२ असार २८ गते काँग्रेस, एमाले, माओवादी तथा तत्कालीन फोरम लोकतान्त्रिक गरी चारै दलका शीर्ष नेताहरू एकै ठाउँमा उभिएर शिलान्यास गरेका थिए ।

तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाको पालामा शिलान्यासपछि देशमा सात वटा प्रधानमन्त्री फेरिसकेका छन् । संघीयता कार्यान्वयनमा आएपछि ओली चार पटक, प्रचण्ड तीन पटक र देउवा दुई पटक प्रधानमन्त्री बनिसकेका छन् तर कसैले पनि यस भवनको निर्माण कार्यका लागि पहल गरेनन् । २०७२ सालमा संविधान जारी भएपछिका हरेक निर्वाचनमा जीपी भवनको अधुरो अनुहार देखाएर झापा ३ मा भोटको राजनीति निरन्तर भइरहेको छ । निर्वाचनपछि यस भवनको जीर्ण स्वरूपमा परिवर्तन ल्याउने काम अहिलेसम्म कसैले गरेका छैनन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्