भद्रपुर, चैत १४ ।विवाहको प्रलोभन देखाएर बलात्कार गर्ने नेपाल प्रहरीका एक कर्मचारीविरुद्ध पीडित युवतीले किटानी जाहेरी दिएकी छन् ।

बिराटनगर महानगरपालिका वडा नम्बर १५ घर भई कोशी प्रदेश प्रहरी गण बिराटनगरमा कार्यरत प्रहरी जवान चन्दनकुमार शाह (२४) विरुद्ध इलाका प्रहरी कार्यालय बिर्तामोडमा जाहेरी दर्ता गरिएको हो ।

पीडित अनारमनी–३६ (नाम परिवर्तन) की २० वर्षीया युवती हुन् । घटना भएका बेला उनी १९ वर्षकी मात्र पुगेकी थिइन् । उनले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ बमोजिम बलात्कार आरोपमा शाहलाई कानुनी कारबाहीको माग गर्दै जाहेरी दर्ता गराइन् ।

पीडित र आरोपीबीच २०८१ जेठदेखि फेसबुकमा चिनजान भएको थियो । कुराकानी हुँदै जाँदा चन्दनले युवतीलाई विवाह गर्ने आश्वासन दिएका थिए । सामाजिक सञ्जालबाटै बिहे गर्ने वाचा गरेपछि उनीहरूबीच भेटघाटसमेत हुन थाल्यो ।
पीडितका अनुसार २०८१ भदौ ७ गते आरोपीले युवतीलाई झापाको सुरुङ्गामा भेट्न बोलाए । भेटका क्रममा रात परिसकेको भन्दै उनले पीडितलाई होटलमै बस्न दवाव दिए । युवतीले घर जानुपर्ने बताउँदा पनि ‘तिमीलाई म एक्लै छोड्दिन, केही हुँदैन’ भन्दै उनलाई होटलमा राख्ने प्रयास गरे ।

त्यसपछि आरोपीले होटल क्विन प्यालेस (कन्काई–३) मा कोठा बुक गरे । युवतीले कोठा लिनुअघि नै अनैतिक कार्य नगर्ने शर्त राखेकी थिइन् । तर, कोठामा छिरेलगत्तै शाहले जबरजस्ती अँगालो हालेर बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।
‘घटनापछि म धेरै रोएँ । बलात्कृत भएको केही दिनसम्म आरोपीले विवाह गर्ने आश्वासन दिइरहेका थिए । केही दिनसम्म सम्पर्कमा नै थिए । उनले मलाई अन्तिम पटकको संवादमा म तिमीलाई विवाह गर्दिनँ । तिमी तिम्रै बाटो लाग म मेरै बाटो लाग्छु भने ।‘त्यसपछि मोबाइल, ह्वाट्सएप, म्यासेन्जर सबै माध्यमबाट ब्लक गरेपछि म थप मानसिक तनावमा परे ।’ युवतीले आफ्ना समस्या सुनाइन् ।
शारीरिक सम्पर्कपछि आरोपीले विवाह गर्न अस्वीकार गर्दै ‘तिमी आफ्नो बाटो लाग, म आफ्नो बाटो लाग्छु’ भनेपछि पीडित तनावमा परिन् । परिवार वा आफन्तलाई केही नभनी मानसिक पीडा झेल्दै गर्दा उनले आत्महत्याको प्रयासस्वरूप विष सेवन गरिन् ।
परिवारले थाहा पाएर उनलाई तत्काल उपचारका लागि लाइफलाइन अस्पताल हुँदै विराटनगर नोबेल अस्पताल पु¥याएका थिए । दुई महिनासम्मको सघन उपचारपछि उनी बाँच्न सफल भइन् ।

न्यायका लागि उनी पत्रकार विनोद सापकोटामार्फत कानुनी परामर्शमा जोडिइन् । कानुन व्यवसायी अर्जुन बस्नेतसहितको टिमको सहयोगमा जाहेरी दर्ता प्रक्रिया अघि बढाइयो ।

पीडित न्यायका लागि पटक–पटक प्रहरी कार्यालय धाइरहेकी थिइन् । समाजका विभिन्न क्षेत्रका अगुवा, महिला अधिकारकर्मी कल्पना चौलागाईं, नेकपा माओवादी केन्द्रका नेता डिल्ली घिमिरे (हिक्मत) र खेलकुद महासंघका भिम लिवाङ लगायतको दवावपछि प्रहरीले जाहेरी लिन बाध्य भयो ।

पीडितको स्वास्थ्य परीक्षण भद्रपुरस्थित प्रादेशिक अस्पतालमा गराइएको छ । स्वास्थ्य परीक्षणको रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ । जाहेरी दर्ता भएकी दिन सुरुङाको घटनास्थल होटल ‘क्विन प्यालेस’को पनि सनाखत गरिएको छ । जाहेरी दर्ता भएसँगै प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

नेपालको फौजदारी संहिता, २०७४ अनुसार, १९ वर्षकी युवतीमाथि जबरजस्ती करणी (बलात्कार) गर्ने अपराधलाई गम्भीर रूपमा लिने गरिएको छ । पीडक दोषी प्रमाणित भएमा कडा सजायको व्यवस्था छ । दफा २१९ अनुसार, १८ वर्ष वा सोभन्दा बढी उमेरकी महिलामाथि बलात्कार गरेमा दोषीलाई ७ देखि १० वर्षसम्म कैद सजाय हुनेछ । यदि बलात्कारपछि पीडितलाई गम्भीर शारीरिक वा मानसिक क्षति पुगेको छ भने सजाय थप कडा हुन सक्ने कानुन व्यवसायी अर्जुन बस्नेतले बताए ।

पीडक चन्दन कुमार शाह जो कोशी प्रदेशको प्रहरी गणमा कार्यरत प्रहरी जवान हुन् । उनीमाथि लागेको आरोप गम्भीर विश्वासघातको रूपमा लिइन्छ । किनभने उनले आफ्नो पदको दुरुपयोग गरी अपराध गरेको देखिन्छ । यदि अदालतमा दोषी ठहर भएमा फौजदारी संहिताको दफा २२१ अनुसार सार्वजनिक पद धारण गर्ने व्यक्तिले गरेको अपराधमा थप सजायको व्यवस्था हुन सक्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्