प्रकाशचन्द्र दाहाल,
झापा , चैत १६ । अमेरिकाबाट निष्काशित भएर अवैधरुपमा नेपाल प्रवेश गरेका तीनजना पूर्व भुटानी शरणार्थी पक्राउ परेका छन् ।

हिजो दमक नगरपालिका वडा न.३ बेलडाँगी शिबिरमा आइपुगेर बसिरहेको अबस्थामा उनीहरुलाई प्रहरीले आज पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा यसअघि दमक नगरपालिका वडा न.३ बेलडाँगी शिबिर बसेका बर्ष ३६ का आशिष सुवेदी , बर्ष ३१ का सन्तोष दर्जी र बर्ष ३६ का रोशन तामाङ रहेका छन् ।
अमेरिकाबाट भुटान डिपोर्ट गरिएका ती तीन जना पूर्व भुटानी शरणार्थीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको हो । अमेरिकाबाट १० जना पूर्व भुटानी शरणार्थी डिपोर्ट भएका थिए । डिपोर्ट भएका १० जनालाई भुटानले पारो विमानस्थलमा स्वागत गरी जयगाउँ हुँदै भारतको पानीट्यांकीमा ल्याएर छाडेको थियो। त्यहाँबाट तीन जना अनधिकृत रूपमा नेपाल छिरेका थिए। भुटानले उनीहरूलाई नागरिकताको आधारमा स्वीकृति नदिई देश छाड्न निर्देशन दिएपछि उनीहरू नेपाल आएका थिए ।
उनीहरुलाई आवश्यक कारवाहीको लागि अध्यागमनको कार्यालय काँकडभिट्टामा पठाउन तयारी भैरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले जानकारी दिएका छन् ।