बिर्तामोड, चैत १६ । फुटबलका अन्तर्राष्ट्रिय खेलाडी रामदर्शन गुरुङलाई ‘गोमेन्द्र सम्मान’ ले सम्मानित गरिएको छ ।

गोमेन्द्र बहुमुखी महाविद्यालयले २९ औं बार्षिकोत्सवका अवसरमा पूर्व फुटवल खेलाडी गुरुङलाई नगद २१ हजार १२१ रुपैयाँसहित सम्मान गरेको हो ।
राष्ट्रिय स्तरसम्म नाम कमाउने धेरै झापाली फुटबल खेलाडी जन्माएका गुरुङ झापाको सैनिक बजारलाई फुटबलको उद्गमभूमिका रूपमा स्थापित गराउन आज पनि उत्तिकै सक्रिय छन् । ७३ वर्षीय गुरुङ झापाली फुटबलको मान र सान उच्च बनाउन २०३२ सालदेखि निरन्तर मैदानमा छन् । प्रवेश कटुवाल, दिलेन लोक्ताम, राजकुमार कन्दङवा, सन्जय राईजस्ता राष्ट्रिय खेलाडीहरूलाई उनले नै फुटबल सिकाएका हुन् । हाल समाजसेवामा लागेका उनी यसअघि वीरता जेसीजको ‘उत्कृष्ट नागरिक सम्मान’ बाट सम्मानित भएका थिए ।
गोेमेन्द्रले गुरुङसहित छ जनालाई सम्मान गरेको हो । जयनारायण खनाल स्मृति पुरस्कार निता कुमाल, दाताराम शर्मा खनाल स्मृति पुरस्कार कृष्णप्रसाद अर्याल र अलबिना गुरुङ, गोबिन्द–इन्द्र स्मृति पुरस्कार अनामिका न्यौपाने, राधा सुवेदी पुरस्कार सन्देश भारतीलाई जनही ५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरिएको छ । महाविद्यालयकी संस्थापक बुधमाया खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एक्सेल डेभलपमेन्ट बैंकका कार्यकारी निर्देशक डा. इन्द्रकुमार कट्टेल, महाविद्यालयका प्राचार्य डा. रुपकप्रसाद खनाल, सह–प्राचार्य सरु भुर्तेल खनाललगायतले सम्मान गरेको थिए । महाविद्यालयको तर्फबाट शिक्षक विकास कोइरालाले स्वागत गरेको कार्यक्रममा विद्यार्थीको तर्फबाट सभ्या गिरीले पनि स्वागत गरेकी थिइन् ।
महाविद्यालयको गतिबिधिसहित कार्यक्रमको औचित्यमाथि क्याम्पस प्रमुख डा. खनालले प्रकाश पारेको कार्यक्रमको सञ्चालन प्राध्यापक शेखर पाण्डेले गरेका थिए । बार्षिकोत्सवका अवसरमा बिद्यार्थीहरुले सांस्कृतिक प्रस्तुतीसमेत प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि डा. कट्टेल र एक्सेल डेभलपमेन्ट बैंकमा एचआर हेड श्यामबाबु बोहोराले शुभकामना मन्तव्य राखेका थिए । महाविद्यालयमा हाल ४९० जना विद्यार्थी अध्ययनरत रहेका छन् भने शिक्षक कर्मचारी ४० जना कार्यरत रहेको जनाइएको छ ।