झापा,चैत १६ । काठमाडौंको तीनकुनेमा शुक्रबार भएको प्रदर्शनमा संलग्न सयभन्दा बढीलाई प्रहरीले पक्राउ गरेपनि आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं अझै फरार छन् ।

उनी काठमाडौमै रहेको आशंका गरिएको छ । काठमाडौमै रहेका प्रसाईले सामाजिक संजालमार्फत आफ्ना कुरा सार्वजनिक गर्दै आएका छन् । आज साँझ पनि उनले सामाजिक संजालमार्फत अपिल गरेका छन् । हिजो तीनकुनेमा हत्या र प्रहरी दमनका बिरुद्ध र पूर्व राजा ज्ञानेन्द्रमाथि अत्याचार भएको भन्दै उनले आम नागरिकलाई आन्दोलनमा उत्रिन आव्हान गरेका छन् ।

बीएण्डसी अस्पतालका संचालक प्रसाई झापा आइनपुगेको झापा प्रहरीले जनाएको छ । झापा आउनेबित्तिकै उनलाई पक्राउ गर्ने आदेश आएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र खड्काले बताए ।

यसैबीच आज काठमाडौं प्रहरी परिसरको टोलीले दुर्गा प्रसाईंनिकट मुनिन्द्रराज भण्डारीलाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले भण्डारीलाई बालाजुबाट पक्राउ गरेको बताए।

‘प्रसाईंका सहयोगी हुन्, शुक्रबारको आन्दोलनमा दुर्गा प्रसाईंसँगै गाडीमा हिँडेका थिए,’ एसपी बोहोराले भने।
दुर्गा प्रसाईं भने फरार छन्। उनको खोजी भइरहेको पनि एसपी बोहराले जानकारी दिए।

प्रसाईंका अर्का निकटस्थ धर्मगुरू पुस्कर खतिवडा पनि शनिबार नै पक्राउ परेका थिए। उनलाई ललितपुर प्रहरी परिसरको टोलीले उनकै घरबाट पक्राउ गरेको थियो।

शुक्रबार राति तीनकुनेबाट भागेका प्रसाईं धर्मगुरूसँग उनकै घर पुगेको पनि खुलेको छ। प्रसाईंसहित शुक्रबारको प्रदर्शनमा सहभागी भएकाहरूको खोजीका लागि काठमाडौं, भक्तपुर र ललितपुर गरी तीनै जिल्लाका प्रहरीसहित अपराध अनुसन्धान कार्यालयको टोली खटिएको छ।

प्रहरीले यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमसेर राणालाई पक्राउ गरेको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार उनीहरुलाई शुक्रबार साँझ पक्राउ गरिएको हो । तीनकुनेमा भएको घटनाका सन्दर्भमा आवश्यक सोधपुछका लागि उनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

राजसंस्था पुनःस्थापना लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई भने प्रहरीले घरमै नजरबन्दमा राखेको छ । त्यसैगरी, प्रहरीले अधिवक्ता स्वागत नेपाल र अन्य केहीलाई पनि पक्राउ गरेको जनाएको छ । तीनकुने घटनामा अहिलेसम्म १११ जना पक्राउ परेको एसपी अधिकारीले जानकारी दिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्