लक्ष्मी उप्रेती
बाहुनडाँगी  । झापाको मेचीनगरमा रहेको बाहुनडाँगी सिद्धिखोला एकीकृत खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा एकजना महिला सदस्यबाहेक बाँकी सवै पदमा नेपाली कांग्रेस , राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लिम्बुवान लोकतान्त्रिक मोर्चाको संयुक्त लोकतान्त्रिक प्यानलका  उम्मेद्वार विजयी भएका छन् ।

नेकपा एमालेको प्रगतिशील समूहतर्फका अध्यक्ष पदका उम्मेद्वार पासाङ तामाङलाई ११७ मतले पछि पार्दै संयुक्त लोकतान्त्रिक प्यानलका हेमलाल गुरागाईँ अध्यक्षमा विजयी भए । तामाङले ३१५ र गुरागाईँले ४३२ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका मेघराज खड्काले भने १८५ मत पाए । खड्का स्वतन्त्र उम्मेद्वारका रुपमा चुनावी प्रतिस्पर्धामा थिए ।

यसैगरी, उपाध्यक्षमा सागर कार्की विजयी भए । कार्कीले प्रगतिशील समूहतर्फका पुष्कर घिमिरेलाई पराजित गरेका हुन् । कार्कीले ५८२ र घिमिरेले २२५ मत प्राप्त गरेका थिए । कार्की संयुक्त लोकतान्त्रिक प्यानलका तर्फबाट उम्मेद्वार थिए ।

यसैगरी सचिवमा स्वतन्त्र उम्मेद्वार राजन कार्की संयुक्त लोकतान्त्रिक प्यानलका उम्मेद्वारसँग ३० मतको फरकमा पराजित बने । कार्कीले ३२५ मत प्राप्त गरी उपविजेता बन्दा लोकतान्त्रिक प्यानलका उम्मेद्वार सन्तोष सुबेदी ३५५ मतका साथ विजयी भए । प्रगतिशील समूहतर्फका सचिव पदका अर्का उम्मेद्वार गोपाल बराईलीले १५३ मत प्राप्त गरेका थिए ।

सहसचिवमा राजन न्यौपाने ३९४ मतका साथ विजयी भए । उनका प्रतिस्पर्धी प्रगतिशील समूहका सुरेश घिमिरेले २८८ मत प्राप्त गरेका थिए । न्यौपाने र घिमिरेको मतान्तर १०६ रहेको छ ।

कोषाध्यक्षमा पूर्णिमा कट्टेल विजयी भईन् । संयुक्त लोकतान्त्रिक प्यानलकी कट्टेलले ३९४ मत प्राप्त गर्दै विजयी बन्दा प्रगतिशील समूहकी पुष्पाकुमारी बिष्टले २४४ मत मतमा चित्त बुझाउनु परेको थियो ।

खुला महिला सदस्य राधा नेपाल ४९२ र उमा राउत ३३७ मत प्राप्त गर्दै विजयी बने । नेपाल संयुक्त लोकतान्त्रिक प्यानल र राउत प्रगतिशील समूहतर्फबाट उम्मेद्वार थिए । अन्य महिला सदस्य पदका उम्मेवार बिनु लिम्बूले २९२ र भगवती राईले १८४ मत प्राप्त गरे । राउतमात्र प्रगतिशील समूहतर्फबाट बिजयी बनेकी हुन् । पुरुषतर्फ खुला सदस्यमा युवराज पौडेल ३२९ र चन्द्रलाल ढुङ्गाना ३०५ मतका साथ विजयी भए । खुला पुरुषका अन्य उम्मेद्वार डम्बरबहादुर लिम्बेल मगरले १९९, रामकुमार दाहालले १२१, किशोरकुमार दुलालले १२१ र देउकुमार लिम्बूले २६० मत प्राप्त गरेका थिए ।

नेपाली काँग्रेस , राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लिम्बुवान लोकतान्त्रिक मोर्चाले पद भागवण्डा गरी संयुक्त लोकतान्त्रिक प्यानलका तर्फबाट उम्मेद्वार अघि सारेका थिए । सचिव, सहसचिव तथा एकजना खुला महिला सदस्य राप्रपाको भागमा परेको थियो भने एकजना महिला सदस्य लिम्बुवानको भागमा थियो । लिम्बुवानकी उम्मेद्वार पराजित भईन् ।
। कुल १३२७ मतदाता रहेको समितिमा १००९ मत खसेको निर्वाचन समिति संयोजक चन्द्रशेखर गुरागाईंले बताए । ९ पदका लागि २३ जना चुनावी मैदानमा थिए । शनिवार सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम आइतबार विहान ३ बजे सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्