
झापा,चैत १७ । राजसंस्था पुनर्स्थापनाको माग गर्दै शुक्रबार भएको अराजकताको विरोधमा नागरिक संघसंस्था र नागरिक अगुवाहरूले आइतबार माइतीघरमा धर्ना दिएका छन्।
गैरसरकारी संस्था महासंघको संयोजनमा भएको धर्नामा विभिन्न नागरिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू र नागरिक अगुवाहरू सहभागी थिए।
लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै भएको भन्दै लोकतन्त्रको रक्षा र संविधानको कार्यान्वयनका लागि आफूहरूले धर्ना दिनुपर्ने परिस्थिति बनेको गैरसरकारी संस्था महासंघका अध्यक्ष अर्जुन भट्टराईले बताए।उनले नेपाली जनतालाई जागृत, सशक्त हुन र लोकतन्त्रको पक्षमा उभिन आग्रहसमेत गरे।
धर्नाका क्रममा उनीहरूले लोकतन्त्र, मानव अधिकार र शान्तिका पक्षमा अभिमत प्रकट गर्न आह्वान गरेका छन्। अराजकता र हिंसालाई निरुत्साहित गर्न भन्दै उनीहरूले दण्डहीनताको अन्त्य गर्न, अराजकतालाई नियन्त्रण गर्न, सुशासन कायम गर्न र कानुनी शासनको पालना गर्न माग गरेका छन्।
त्यस्तै, समानता, न्याय र समावेशिताको सुनिश्तता गर्न तथा संविधानको पूर्ण परिपालना गर्न र गराउन समेत उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।