झापा, चैत १७ । गत जेठमा भागी विवाह , असारमा गर्भधारण अनि चैत १ गते ९ महिनाको गर्भ बोकेकी श्रीमतीलाई गर्भको बच्चासहित नै हत्या गरेर शव गायब ।

यो कुनै सस्पेन्स चलचित्रको क्राइम सीन नभएर इलामको फाकफोकथुममा घटेको दर्दनाक घटना हो । फाकफोकथुम गाउँपालिका वडा नं ३ सल्लेरी बस्ने २५ वर्षीय उमेश गिरीले १९ वर्षीया श्रीमती बिमला कट्टेललाई त्यसरी गर्भको बच्चासहित नै हत्या गरेर गाडिदिएका हुन् ।

गर्भवती विमलाको हत्यारा उमेशलाई जिल्ला प्रहरी कार्यालय इलामले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । विमला हराएको निवेदन चैत १ गते आमचोक प्रहरीमा परेपछि प्रहरीले विशेष टोली बनाएर उनको खोजतलास थालेको थियो । दुई सातापछि चैत १५ गते बिहानको राति १ बजे प्रहरीले घरभन्दा करिब दुई घण्टाको पैदल दूरीमा रहेको फाकफोकथुम गाउँपालिका २ को धार्नेखोपस्थित दाहाल गोलाईमा कच्ची बाटोको बीचमा विमलाको शव माटोमुनि गाडिएको अबस्थामा फेला पारेको थियो । विमला हराएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले उमेशलाई केही दिनअघि नै नियन्त्रणमा लिइसकेको थियो । विमलालाई हत्या गरेर आफूले शव बीच सडकमा गाडिदिएको उमेशले नै ठाउँ देखाएपछि घटनाको रहस्य खुलेको प्रहरीले जनाएको छ ।

उमेशले चैत १ गते विमलालाई हत्या गरेर गाडेका थिए भने प्रहरीले १५ दिनपछि गाडेको ठाउँबाट कुहिन लागेको बिमलाको शव खनेर निकालेको थियो । गर्भवती विमलाको शवको अबस्था हेर्दा अत्यन्त दर्दनाक रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक संजीव बोगटीले बताए । उनले विमलाको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको जानकारी दिए ।

विमलाको शव भेटिएपछि जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक रमेश राईको नेतृत्वमा विशेष समूह गठन गरी घटना अनुसन्धान गरिरहेको छ । प्रहरीको अहिलेसम्मको अनुसन्धान अनुसार उमेश विवाहेत्तर सम्बन्धमा रहेको र त्यसैकारण श्रीमतीको हत्या गरेको हुनसक्ने देखिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक एकनारायण कोइरालाले त्यसघि पनि घरमा श्रीमान–श्रीमतीको सामान्य झैझगडा हुने गरेपनि हत्याको धम्की दिने गरेको नखुलेको बताए । ‘उमेशले फागुन २९ गते साँझ विमलालाई घुम्न जाऔं भनी घरबाट लगेको देखिन्छ,’ कोइरालाले भने, ‘उमेशको बयान अनुसार जहाँ उनलाई खाडल खनेर पुरिएको छ, त्यहाँ पुगेपछि उमेशले विमलालाई एक मुक्का हान्छन् , श्रीमती सडकमै ढलेपछि घाँटी थिचेर हत्या गरेपछि खाडल खनेर गाडेको देखिन्छ ।’

गर्भवती श्रीमतीको हत्या गरी सडकको बीचमा लगेर गाड्नेजस्तो संवेदनशील घटनाले आफू पनि चकित भएको कोइराला बताउँछन् । ‘घटनाको प्रकृति हेर्दा यो सामान्य हत्यामात्रै होइन,’ उनले भने, ‘गर्भवती पत्नीलाई हत्या गरेर बीच सडकमा गाड्नु अत्यन्त्र हिंस्रक र गम्भीर प्रकृतिको घटना हो ।घटनाको विस्तृत अनुसन्धान गरिरहेका छौं ।’ पक्राउ परेका उमेश एक्स्काभेटर चालक हुन् । घटनामा उमेशबाहेक अरूको संलग्नता अहिलेसम्म नखुलेको प्रहरीको भनाई छ । पक्राउ परेका उमेशलाई अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्