झापा , चैत १८ । ताप्लेजुङबाट झापातर्फ आउँदै गरेको बोलेरो ब्रेकफेल भई इलाममा दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

आज साँझ ५.०७ बजे इलाम नगरपालिका १ सीटीइभीटी नेपालटारस्थित सडकमा ताप्लेजुङबाट झापातर्फ आउँदै गरेको मे १ ज २६ ४५ नं. को बोलेरो अचानक ब्रेकफेल भई सडकबाट अन्दाजी १५ मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते हुने यात्रुहरु निम्न छन् ।
१) ताप्लेजुङ फुङ्लिङ –१० बस्ने ३९ वर्षीय मंगलबिर लिम्बू (दाहिने हातमा चोट, अवस्था बोल्न सक्ने सामान्य रहेको )
२) ताप्लेजुङ मिक्वा खोला –१ बस्ने अन्दाजी ४१ वर्षीया कमला लिम्बू ( कम्मरमा चोट, अवस्था बोल्न सक्ने सामान्य रहेको )
३) ताप्लेजुङ फुङ्लिङ– १० बस्ने अन्दाजी ६२ वर्षीया दुर्गामाया लिम्बू (टाउकोमा चोट, अवस्था बोल्न सक्ने सामान्य रहेको )
४) झापा अर्जुनधारा –७ बस्ने १७ वर्षीया समीक्षा खड्का ( टाउकोमा चोट, अवस्था बोल्न सक्ने सामान्य रहेको )
५) पाँचथर कुम्मायक – ५ बस्ने अन्दाजी ३० वर्षीया इन्दिरा लिङ्दम लिम्बू ( बायाँ आँखामाथि चोट, अवस्था बोल्न सक्ने सामान्य रहेको)
बोलेरोमा सवारमध्ये ५ जना यात्रु घाइते भई उपचारको लागि जिल्ला अस्पताल इलाम पठाइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रहरी निरीक्षक संजीव बोगटीले बताए । दुर्घटना भएको भन्ने खबर अस्थायी प्रहरी बिट नेपालटारमा प्राप्त हुनसाथ ३ जना प्रहरी टोली खटिएको र बोलेरो चालक पाँचथर फिदिम नगरपालिका वडा नं. ५ बस्ने अन्दाजी ३८ वर्षीय बिक्रम नेम्बाङलाई अस्थायी प्रहरी बिट नेपालटारले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक बोगटीले जानकारी दिएका छन् ।
उता आज बिहान ९ः३० बजे पाँचथरको फिदिम –४ शखरखण्डेस्थित तमोर करिडोर सडकखण्डमा ताप्लेजुङबाट धरानतर्फ जाँदै गरेको प्र १–०१–००१ ज ३५१५ नं. को बोलेरो आफै अनियन्त्रित भई सडकबाट ५० फिट तल झरेर दुर्घटना भएको छ ।
दुर्घटनामा ताप्लेजुङ आठराई त्रिबेणी –४ बस्ने ३२ वर्षीय डेढराज लिम्बू , सोही ठाउँ बस्ने ३१ वर्षीया बिमला तामाङ , ५५ वर्षीय डेककुमार तामाङ ,८४ वर्षीय दलबहादुर सेन्दाङ , सवारी धनीे ४५ वर्षीय ज्ञानबहादुर लिम्बू र सवारी चालक ताप्लेजुङ फुङलिङ २ बस्ने २५ वर्षीय बिनोद गुरागाई घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल फिदिममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।