झापा,चैत २० । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवास्थित साँवा माध्यमिक विद्यालयको भवन भारत सरकारको सहयोगमा निर्माण हुने भएको छ ।

भारत सरकार र मिक्वाखोला गाउँपालिकाको लागत साझेदारीमा विद्यालय भवन निर्माण हुने भएको हो ।

भारत सरकारको सहयोगमा सञ्चालित उच्च प्रभावयुक्त सामुदायिक परियोजना (एचआईसिडिपिएस) मार्फत विद्यालय भवन निर्माण गर्न लागिएको हो । मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाका अनुसार १२ कोठा भएको तीनतले विद्यालय भवन निर्माण गरिनेछ ।

भारत सरकारको सहयोगमा चार करोड २९ लाख ११ हजार २९० रुपियाँको लागतमा उक्त भवन निर्माण हुने भएको थापाले जानकारी दिए । उनका अनुसार विद्यालय भवन निर्माण गर्न लाग्ने कुल लागत रकममध्ये पाँच प्रतिशत गाउँपालिकाले बेहोर्नेछ ।

गाउँपालिका अध्यक्ष कार्कीको प्रस्ताव र पहलमा भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण हुने भएपछि भारतीय राजदूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र मिक्वाखोला गाउँ पालिकाबिच सम्झौता भएको छ । भारतीय राजदूतावासका विकास साझेदार सल्लाहकार अभिनासकुमार सिंह, मन्त्रालयका उपसचिव महेन्द्रकुमार सापकोटा र गाउँ पालिका अध्यक्ष कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यता एक दुर्गम क्षेत्रमा रहेको विद्यालयमा पक्की भवन बन्ने भएपछि विद्यालय र पठनपाठन सञ्चालनमा सहज हुने भएको गाउँपालिका अध्यक्ष कार्कीले बताए । सहज रुपमा पठनपाठन सञ्चालन गर्ने वातावरण बन्दा शैक्षिक गुणस्तर सुधारमा टेवा पुग्ने उनको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्