झापा, चैत २० । इलाममा ट्रयाक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा तीनजना घाइते भएका छन् ।

आज दिउँसो ४.२० बजे इलाम देउमाई –२ पुङ्फुङस्थित भित्री पक्की सडकखण्डमा मंगलबारे बजारबाट फाकफोकथुमतर्फ जाँदै गरेको प्र.१–०१–०१२ प २०३१ नं को मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको मे १ त १८६४ नं को ट्रयाक्टर एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार तीनजना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा मोटरसाइकल चालक फाकफोकथुम– ७ बस्ने २७ वर्षीय मनिष लिम्बू , मोटरसाइकलमा पछाडि सवार सोही ठाउँ बस्ने ४८ वर्षीय असार लिम्बू र ३५ वर्षीय बिरबहादुर लिम्बू रहेका छन् । घाइतेहरुलाई उपचारको लागि झापातर्फ ल्याइएको छ । मोटरसाइकल पूर्णरुपमा क्षतिग्रस्त भएको र ट्रयाक्टर चालक फरार रहेकाले खोजतलास भइरहेको इलाम प्रहरीले जनाएको छ ।